रूसमा आतंकवादी आक्रमण: १५ प्रहरी अधिकृतको मृत्यु

5:29 pm


काठमाडौँ । दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी गराएको छ । दुई अर्थोडक्स चर्च, धार्मिक सभाघर र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखचकलाको ट्राफिक प्रहरी चौकीमा भएको सशस्त्र झडपमा मानवीय क्षति भएको हो ।
दागेस्तान गणतन्त्रका प्रमुख सर्गेई मेलिकोभले स्थिति नियन्त्रणमा आइसकेको बताएका छन् । उनका अनुसार डर्बेन्टसिथ्त सभाघरमा आक्रमणको क्रममा लगाइएको आगो पूर्ण रूपमा निभाइएको छ । सशस्त्र आक्रमणमा संलग्न छ जना सशस्त्र व्यक्ति मारिएको मेलिकोभले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा उल्लेख छ । ‘आतंकवादी’ आक्रमणमा संलग्न समूहलाई पक्राउ गर्न कानून प्रवर्तन अधिकारीलाई खटाइसकिएको उनले बताए ।
उत्तरी ककेशियन क्षेत्रमा अवस्थित दागेस्तान देशको सबैभन्दा भाषिक र जातीय विविधता भएको क्षेत्रमध्ये एक हो ।आक्रमणपछि रूसको यहूदी समुदाय महासङ्घका अध्यक्ष अलेक्ज्यान्डर बोरोडाले दागेस्तानमा भएको आक्रमणपछि आउनसक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि उक्साहटमा नलाग्न स्थानीयलाई आग्रह गर्नुभएको छ ।
स्थानीय अधिकारीका अनुसार मखचकला र डरबेन्टमा हुने सबै मनोरञ्जन कार्यक्रमहरू अर्को सूचना नहुँदासम्मका लागि रद्द गरिएको छ । सरकारी तथ्याङ्क अनुसार मार्च २२ मा मस्कोको क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतङ्कवादी आक्रमण र आगजनीमा कम्तिमा १४४ जनाको मृत्यु हुनुका साथै ५५१ जना घाइते भएका थिए । -एजेन्सी

प्रतिक्रियाहरु