जातीय घटनाको दोषीलाई कारबाही गर

6:35 pm


काठमाडौँ । श्रमिक समुदाय मोर्चा, नेपालले कालिकोटमा सोमबार साँझ भएको जातीय घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कारबाही र घाइतेको उपचार गर्न माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल सीले मंगलबार एक विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् ।

यस बिषयमा श्रमिक समुदाय मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘कालिकोट जिल्ला पलाँता गाउँपालिका-९, थिर्पु को बार्खे बजारमा २०८१ असार १० गते स्थानीय डबल सुनार र मान बहादुर सुनार लाई सोही स्थानका हर्ष बहादुर बम र नर बम लगायतका दर्जनौं व्यक्तिहरुले जातगत अपमान दर्शाउने गालीगलौज गरि कुटपिट गरि सक्त घाइते बनाएको घटना प्रति हाम्रो मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । हिजो बेलुकी करिव ७:३० बजे ती पीडक व्यक्तिहरुले घट्ट बाट पिसेर ल्याएको पिठोको भारी निज पीडित व्यक्तिहरुलाइ जबर्जस्ती सित्तैमा बोक्न भनेको र उनीहरुले सो कार्य आफूहरूले गर्न नसक्ने बताएपछि तिमीहरू डुम, कमारा, ठूला भएका भन्दै रडले हानेका थिए । रड बाट डबल सुनार को आँखामा गम्भीर चोट लागेको र मान बहादुर सुनारको घाँटीमा चोट लागेको पीडितका आफन्तले बताएका छन् । आँखामा चोट लागेका डबल सुनारलाई उपचारको लागि सदरमुकाम मान्म लगिएको छ । हाम्रो मोर्चा यसप्रकारको आततायी, बर्बर एवं अमानवीय घटनाको घोर निन्दा एवं भत्सर्ना गर्दछ ।
सो घटना घटे लगत्तै हाम्रो स्थानीय मोर्चा संगठन र नेकपा कालिकोट जिल्ला पार्टीको तर्फबाट स्थलगत अध्ययन गरि पीडितलाई उपचारमा सहजीकरण गर्ने र यस घटनाका दोषीलाई कार्वाही गराउने प्रक्रियामा लागिराखिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको २१ औं शताब्दीको आजको समयमा हिजो सामन्ती युगकै जस्तो सित्तैमा काम गराउन खोज्ने र नमानेकोमा विभेदजन्य अपशब्द प्रयोग गर्दै साँघातिक आक्रमण गर्नुले निज दुबैजना पीडितहरु माथि जातगत विभेदको व्यवहारका साथ-साथै लोकतान्त्रिक हक अधिकार र मानवअधिकार को घोर उल्लंघन भएको छ ।
तसर्थ, यस घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई सजाय र पीडितलाई न्याय प्रदान गर्नुका साथै निशुल्क उपचारको व्यवस्था गर्न हाम्रो मोर्चा नेपाल सरकार र स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दछ ।
साथै, यो दलाल संसदीय व्यवस्था र यसका संचालक राजनीतिक पार्टीहरु न्यायप्रेमी र समतामूलक नभएसम्म यसप्रकारका घटना भैराख्ने भएकोले व्यवस्था परिवर्तनको पक्षमा लाग्न अपरिहार्य भैसकेको सम्बन्धित सबै पक्षमा हार्दिक आह्वान गर्दछौं ।’


यसैबीच, जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी अर्जुन श्रेष्ठले घटनामा संलग्न हर्ष बमलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान गरिरहेको र अन्यलाई पनि गिरफ्तार गरी थप अनुसन्धान गर्ने प्रयास गरिरहेको बताए । उनले हालसम्म घटनाको निवेदन मात्रै दर्ता भएको र मुद्दा दर्ता भइ नसकेको डिएसपी बताए ।
कालिकोट जिल्लाको पलाँता गाउँपालिका-९, थिर्पुको बार्खे बजारमा सोमबार स्थानीय डबल सुनार र मान बहादुर सुनारमाथि जातीय अपमानजनक गालीगलौज र कुटपिट भएको बताइएको छ । सोही स्थानका हर्ष बहादुर बम र नर बम लगायतका दर्जनौँ व्यक्तिहरुले जातगत अपमान दर्शाउने गालीगलौज र कुटपिट गरी सुनारद्वयलाई सख्त घाइते बनाएको बताइएको छ ।
सुनारद्वयले घट्टबाट पिसेर ल्याएको पिठोको भारी निज पीडित व्यक्तिहरुलाई जबर्जस्ती सित्तैमा बोक्न भनेको र उनीहरुले सो कार्य आफूहरूले गर्न नसक्ने बताएपछि तिमीहरू डुम, कमारा, ठूला भएका भन्दै रडले हानेको बताइएको छ । रडले हान्दा डबल सुनारको आँखामा गम्भीर चोट लागेको र मान बहादुर सुनारको घाँटीमा चोट लागेको पीडितका आफन्तले बताएका छन् । आँखामा चोट लागेका डबल सुनारलाई उपचारको लागि सदरमुकाम मान्म लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बिरामीलाई सुर्खेत रिफर गरिएको नेकपा कालिकोटका इन्चार्ज विवेक सी.ले बताएका छन् ।

प्रतिक्रियाहरु