ओखलढुंगामा पहिरो : एकजनाको मृत्यु

9:06 am


काठमाडौँ । ओखलढुंगामा गए राति गएको पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ शेर्नाको थुम्कीमा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा ३५ वर्षीय देवकुमारी खत्रीको मृत्यु भएको हो ।
पहिरोमा परेर एकै परिवारका अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहेका छन् । उनीहरुलाई सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उद्दारमा संलग्न छिमेकी यदु बाँस्तोलाका अनुसार पहिरोले घर तथा गोठ ४ सय मिटर तल बगाएको छ ।
यता, लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति पहिरो गएर तीनवटा घर बगाएको र चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पहिरोले रुद्रमान गुरुङ, उनका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको जनाइएको छ । आज बिहान पहिरोले घर बगाएको जानकारी पाउनासाथ सुरक्षाकर्मीको टोली घटनास्थल गएको प्रहरीले जनाएको छ । उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल तर्फ गएको जनाइएको छ ।

यसैगरी, कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।

यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ । पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

प्रतिक्रियाहरु