एसईईको नतिजा भोलि बिहान प्रकाशन हुने

4:10 pm


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान प्रकाशन हुने जनाएको छ । परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए । उनले भने- ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौं । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो’, पौडेलले भने, ‘भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।’
१५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

प्रतिक्रियाहरु