मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
काठमाडौँ । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने बताइएको छ । नर्वेजियन नोबेल समितिले मचाडोलाई ‘आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा’ भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो । उनले लामो समयदेखि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध अभियान सञ्चालन गर्दै आएकी छिन् ।
५८ वर्षीय मचाडो भेनेजुएलाकी प्रमुख विपक्षी नेता हुन्। निकोलास मादुरोको तानाशाही सरकारले उनलाई गत वर्ष भएको राष्ट्रपतीय निर्वाचन लड्न नदिएपछि उनकै पहलमा एडमुण्डो गोन्जालेजलाई विपक्षीले साझा उम्मेदवार उठाएका थिए।
गोन्जालेजले सो निर्वाचन जिते पनि मादुरोले धाँधली गरेर आफैलाई विजयी घोषणा गरेका थिए। गोन्जालेजको निर्वाचनमा राम्रो प्रदर्शनको श्रेय मचाडोलाई नै दिइन्छ।
स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा विभिन्न विधामा दिइने नोबेल पुरस्कार स्विडेनमा रहेको नोबेल फाउन्डेसनले दिन्छ। नोबेल शान्ति पुरस्कार विजेताको छनोट भने नर्वेली नोबेल समितिले गर्छ। सो समितिमा नर्वेली संसदले सिफारिस गरेका पाँच सदस्य हुन्छन्। त्यसैले ट्रम्पले आफ्नो दाबी पेस गर्न नर्वेली मन्त्रीसँग कुरा गरेका थिए।
नोबेल पुरस्कार पाउने ट्रम्पको उत्कट चाहना छ। उनको पहिलो कार्यकालभन्दा पहिलेका राष्ट्रपति बाराक ओबामाले पनि नोबेल शान्ति पुरस्कार पाएका थिए। ओबामाले केही नगरी नोबेल पुरस्कार पाएको भन्दै ट्रम्पले पहिलो कार्यकालदेखि नै सो पुरस्कारको दाबी गर्दै आएका थिए।
