आईसीसी टी–२० विश्वकप वार्म–अप खेल : नेपालद्वारा यूएई पराजित

२०८२ माघ २२ गते, बुधबार


काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो वार्म–अप खेलमा नेपालले प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ७ विकेटको शानदार जित निकालेको छ । सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै जितको बाटोमा फर्काएका हुन्। दुवैले चौथो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
नेपालले १४६ रनको लक्ष्य पछ्याउने क्रममा ६.५ ओभरमै ४५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख दुवै आठ–आठ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर रनआउट भएपछि नेपाल दबाबमा परेको थियो।
त्यसपछि मैदानमा आएका आरिफ शेख र पहिलेबाट क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरीले संयमित र आक्रामक ब्याटिङको उत्कृष्ट संयोजन प्रस्तुत गरे । आरिफले ३७ बलमा दुई छक्का र आठ चौकाको मद्दतमा अविजित ६१ रन बनाए भने दीपेन्द्रले ३१ बलमा एक छक्का र चार चौकासहित नटआउट ५० रन जोडे।
नेपालले १७ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै १८ बल बाँकी छँदै खेल समाप्त ग¥यो। यसअघि यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। यूएईका लागि शोएब खानले ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए।
नेपालका बलरहरू प्रभावशाली देखिए। करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे। विश्वकपअघि मध्यक्रमले देखाएको धैर्य र जिम्मेवारीपूर्ण प्रदर्शन नेपाली टोलीका लागि सकारात्मक संकेत मानिएको छ। अब नेपालले दोस्रो वार्म–अप खेलमा बिहीबार क्यानडासँग खेल्नेछ भने विश्वकपको पहिलो आधिकारिक खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]