दैनिक दुई लाख रोटी पाक्ने भान्छा !

२०७३ भाद्र १५ गते, बुधबार

काठमाडौ, १५ भदौ । विश्वमा करोडौं मानिस दिनभरीको संघर्षका बाबजुद पेटभरी खाना खान नपाइरहेको अवस्थामा भारतको एउटा मन्दिरमा दैनिक सरदर ७० हजार मानिसले निःशुल्क भोजन गर्दै आएका छन् । अमृतसरमा रहेको ‘गोल्डेन टेम्पल’ (स्वर्ण मन्दिर) मा धनी–गरिब, ठूलो–सानोजस्ता कुनै विभेदविना सबै मानिसलाई समान व्यवहार गरिन्छ । तीर्थालुलाई निःशुल्क भोजनको व्यवस्था छ भने सबै एउटै लाइनमा बसेर खाना खान्छन् । यो मन्दिरको भान्छामा दैनिक १२ हजार किलो पिठो, १३ हजार किलो दाल, एक हजार पाँच सय किलो चामल र दुई हजार किलो तरकारी खपत हुन्छ । दैनिक सरदर दुई लाख रोटी पाक्ने यो भान्छामा रोटी पकाउनका लागि विशेष यन्त्रको व्यवस्था गरिएको छ, जसमा एक घण्टामा करिब २५ हजार रोटी पाक्छ । खाना बनाउनका लागि उर्जाका रुपमा ग्यास र दाउरा प्रयोग हुन्छ । यो मन्दिरको भान्छामा दैनिक एक सय सिलिन्डरभन्दा बढी ग्यास खपत हुने गरेको बताइन्छ । खाना बनाउने कामका लागि ४ सय ५० कर्मचारीका अतिरिक्त सयौं स्वयंसेवक परिचालन गरिएको हुन्छ ।
मन्दिरको डाइनिङ हलमा एकपटकमा ५ हजार मानिसले खाना खान सक्ने व्यवस्था छ । यस्ता दुईवटा हल मन्दिर परिसरमा छन् । जुठो भाँडा माझ्न पनि तीर्थालुहरु नै अग्रसर हुन्छन् । उनीहरु सेवाभावका साथ भाँडा माझ्छन् । केही अघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि यो मन्दिरमा पुगेर भाँडा माझेका थिए । यो मन्दिरमा शीख धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्र रहे पनि जुनसुकै धर्मावलम्बी यहाँ प्रवेश गर्न सक्छन् तर मन्दिर प्रवेशमा केही नियम भने सबैले पालना गर्नुपर्दछ ।
मन्दिरमा प्रवेश गर्नुअघि जुत्ता–चप्पल बाहिरै खोल्नु पर्दछ । मन्दिर परिसरभित्र धुम्रपान, मद्यपान प्रतिबन्ध छ । मन्दिरभित्र जानुअघि आफ्नो शीर ढाक्नु पर्दछ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]