कम्बोडियामा ३० नेपाली पक्राउ
काठमाडौँ । कम्बोडियामा ३० नेपाली पक्राउ परेका छन्। कम्बोडियाली राष्ट्रिय प्रहरीले अनलाइन ठगीविरूद्ध छापा मार्दै बाभेट सहरस्थित एक क्यासिनो परिसरबाट ३० नेपालीसहित दुई हजारभन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको हो ।
कम्बोडियाली प्रहरीले बाभेट सहरको भान छेङ क्यासिनो परिसरमा छापा मारेको थिया। क्यासिनो परिसरभित्र रहेका २२ वटा भवनमा अनलाइन ठगी गतिविधि सञ्चालन भइरहेको आशंकामा छापा मारेको प्रहरीले जनाएको छ।
उक्त अपरेसनमा करिब ७ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो। कारबाहीका क्रममा २ हजार ४४ जना विदेशी नागरिक पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये एक हजार ७ सय ९२ चिनियाँ, एक सय ७७ भियतनामी, एक सय ७९ म्यानमारका, ३० जना नेपाली, ५ ताइवानी, १ जना मलेसियन, २ जना लाओसका, ३६ जना भारतीय र १ जना मेक्सिकन नागरिक रहेका छन्।
सन् २०२५ फेब्रुअरी २० मा कम्बोडिया सरकारले अनलाइन ठगीविरुद्ध लड्न राष्ट्रिय समिति गठन गरेको थियो।
