अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता हुँदै

२०८१ बैशाख २७ गते, बिहीबार

काठमाडौँ। आगामी असार ३ र ४ गते सोलुखुम्बुको महभिरमा साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आयोजनाका लागि बुधबार काठमाडौँमा माप्य दूधकोशी गाउँपालिका र नेपाल आरोहण खेल सङ्घबीच सम्झौता भएको छ । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई रसङ्घका अध्यक्ष हरि धरेलले हस्ताक्षर गरेका छन्।
पर्यटन विकासको प्रचुर सम्भावना भएको दूधकोशीले गाउँपालिकाभित्रको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए। उक्त प्रतियोगिताले माप्य दूधकोशीमात्र नभई सोलुखुम्बु जिल्लामा नै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए।
नेपाल आरोहण खेल सङ्घका अध्यक्ष धरेलले खेल र पर्यटन विकासमा प्रतियोगिताबाट सहयोेग पुग्ने विश्वास व्यक्त गरे। प्रतियोगितामा छ देशका अन्तर्राष्ट्रियस्तरका ‘क्लाइम्बर’ले भाग लिने उनले बताए। सङ्घले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेर खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्दै आएको छ ।

प्रतिक्रियाहरु