गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द

२०८१ जेष्ठ २ गते, बुधबार

काठमाडौँ । भरतपुर महानगरपालिकाले एक सूचना जारी गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको जनाएको छ । महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले यस अघिको टेन्डर रद्द गरिएको र बिहीबार नयाँ टेन्डर आह्वान गरिने बताए । उनका अनुसार महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको हो । ३० दिनको म्याद राखेर गत फागुन १७ गते टेन्डर आह्वान गरिएको थियो । उक्त टेन्डर एकमात्र एमए कन्स्ट्रक्न प्रालिले ठेक्का हालेको थियो । ठेक्काको मापदण्ड एक मात्रै कम्पनीलाई मिल्ने गरी बनाएको भनेर सार्वजनिक आलोचनासमेत भएको थियो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतको सल्लाहमा टेन्डर रद्द गरेर नयाँ टेन्डर निकाल्न लागिएको हो । महागनरले पुनः ३० दिनको म्याद राखेर टेन्डर निकाल्ने तयारी गरेको छ । चालु आर्थिक वर्षभित्रै सम्झौता गर्न मिल्ने गरी टेन्डर निकाल्ने तयारी गरिएको उपनिर्देशक अर्यालले जानकारी दिए ।
महानगरले यसअघि १ अर्ब १० करोडको ठेक्का आब्हान गरेको थियो । महानगरले यसअघि ५७ करोडभन्दा बढीको टर्न ओभर भएको र रंगशालासम्बन्धी काम गरेको हुनुपर्ने मापदण्डमा बनाएको थियो । अब भने मापदण्डमा केही लचकता अपनाइने उपनिर्देशक अर्यालले बताए ।
उनले भने- ‘मूलतः आरसीसीको काम भएकोले सोही कामका अनुभवीलाई समेत टेन्डर हाल्न मिल्ने गरी पुनः टेन्डर गछौं। पहिला गरिएको टेन्डरमा एक मात्रै कम्पनी आयो, एकमात्रै कम्पनी हुँदा तोकिएको मूल्यभन्दा घटीघटाउमा नआउने देखिएकोले रद्द गर्नुपरेको हो ।’
महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार थप १० हजार क्षमताको प्यारापिटसहित मैदान लगायतका भौतिक पूर्वाधार निर्माणका लागि टेन्डर निकालिएको थियो ।
सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउन्डेसनले ५ हजार बस्ने प्यारापिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ ÷३ तलाको टावर बनाइने छ ।
एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो ।
संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ । संघीय मन्त्रिपरिषद्को गत कार्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजना भित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सरकारको मंगलबारको नीति तथा कार्यक्रममा पनि रंगशाला निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रियाहरु