हेटौँडा कला महोत्सव सुरु हुँदै

२०८१ जेष्ठ २ गते, बुधबार


काठमाडौँ । शनिबारीय स्थलगत कला कार्यशाला अभियानद्वारा आयोजित ‘हेटौँडा कला महोत्सव’ जेठ ३ गतेदेखि महोत्सव हुँदैछ । उक्त कला महोत्सवले हेटौँडाको ऐतिहासिक साँस्कृतिक एवं पर्यटकीय गरिमालाई ललितकलाका माध्यामबाट संरक्षण एवं प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा आयोजकको छ । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय संरक्षक रहेको महोत्सवमा हेटौंडा उपमहानगरपालिकाले समेत सहकार्य गरेको छ ।
महोत्वसमा खुलास्थल चित्रकला कार्यशाला, कलासम्बन्धी संवाद, वरिष्ठ कलाकारको सम्मान, कलाकै विषयमा कार्यपत्र प्रस्तुतिलगायतका गतिविधि हुनेछन् । जेठ ५ गतेसम्म आयोजना हुने महोत्सव अन्तरगत कलाकारले भुटनदेवी मन्दिर, पशुपति मन्दिर, वनस्खण्डी, बुद्ध चोक, चौकी टोल, लालझाडी, दक्षिणकाली, मकवानपुर गढी, राप्ती पुल, हेटौडा बसपार्क, कृष्णमन्दिर, सानो पोखरा गुम्बा, त्रिवेणीधाम,चम्पा डाँडा, मककामना मन्दिर, शहिद स्मारक पार्क र पुष्पलाल पार्कलगायत क्षेत्रमा कला कार्यशाला तथा विविध कार्यक्रम हुने छ ।
उक्त महोत्सवमा काठमाडौंबाट २५ सहित ५० भन्दा बढी कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक दिवेश प्रधानले जानकारी दिए ।
उनका अनुसार काला सम्बादका साथै कला डेमोस्ट्रेसन पनि हुने छ । यसले हेटौंडाको कला विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।
अहिलेसम्म प्रादेशिक राजधानी भएर पनि हेटौंडामा एउटा पनि कला प्रदर्शनी गर्ने ग्यालरी नै नभएको अवस्थामा कार्यक्रमले नयाँ सन्देश दिने अपेक्षा आयोजकको छ । त्यस क्षेत्रमा कला र संस्कृतिप्रतिको जागरण ल्याउन महोत्सव गर्न लागिएको हो । महोत्सवमा कुल बिक्रीको ५० प्रतिशत रकम मानवसेवा आश्रमलाई सहयोग गरिने जनाइएको छ ।
उक्त महोत्सवमा हेटौंडाको ऐतिहासिक, साँस्कृतिक, एबं पर्यटकीय स्थलमा चित्रकला कार्यशाला र प्रदर्शनी, नेपालका वरिष्ठ चित्रकारहरु एवं हेटौंडाका स्थानीय कलाकारको सहभागितामा स्थलगत कला कार्यशाला, प्रत्यक्ष कला सिर्जना र प्रदर्शन गरिने छ ।
हेटौंडा क्षेत्रको ललितकलासम्बन्धी अतित, वर्तमान र भविश्यसम्बन्धी कार्यपत्र प्रस्तुत, बागमती प्रदेशको कला प्रवद्र्धनमा हेटौंडाको भूमिकासम्बन्धी छलफल हुनेछ । लोककला संस्कृति झल्कने नृत्य र झाँकी, विशिष्ट कला साधकहरुलाई सम्मान आदि कार्यक्रम रहने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु