रुसी राष्ट्रपतिको चीन भ्रमण र नेपाल सन्दर्भ

२०८१ जेष्ठ ७ गते, सोमबार

डा केशव देवकोटा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गर्नुभएको गत बिहीबार र शुक्रबारको दुईदिने चीन भ्रमण यतिबेला विश्वभरीनै सर्वाधिक चर्चामा रहेको छ । भ्रमणकाक्रममा उहाँले चिनियाँ समकक्षी सी जिन पिङसँग बेइजिङको ग्रेट हल अफ द पिपुलमा भेटवार्ता गर्नुभएको थियो । त्यसक्रममा चीन र रुसबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवका सन्दर्भमा दुईराष्ट्र प्रमुखले संयुक्त रुपमा प्रेसलाई समेत भेट्नु भएको थियो । भ्रमणको अन्त्यमा नेताद्वयको संयुक्त हस्ताक्षरमा जारी बक्तव्यमा जनवादी गणतन्त्र चीन र रुस नयाँ युगको लागि बृहत् रणनीतिक साझेदारी सम्बन्धलाई प्रगाढ बनाउने लगायतका कुराहरु उल्लेख छन् । उहाँहरुले दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने पाँचवटा सिद्धान्तको पनि तयगर्नुभएको छ । जसमा पहिलो, पारस्परिक सम्मानप्रति प्रतिबद्ध रहने र सधैं एकअर्काको मुख्य हितको लागि समर्थन प्रदान गर्ने, दोश्रोे पारस्परिक लाभको नयाँ प्रतिमानलाई बढावा दिने, तेश्रो दिगो मित्रताका लागि प्रतिबद्ध रहने, चौथो दुई देशबीच रणनीतिक समन्वय गर्ने र विश्वव्यापी शासनलाई सही दिशामा लैजान प्रतिबद्ध रहने, पाँचौं निष्पक्षता र न्यायमा प्रतिबद्ध रहने तथा हटस्पटहरुको राजनीतिक समाधानमा समर्पित रहनेलगायतका कुराहरु उल्लेख छन् । चीन लगातार १३ वर्षदेखि रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको छ र रुसको वैदेशिक व्यापारको ३२ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२३ मा रुस चीनको चौथो ठूलो व्यापारिक साझेदार बनेको थियो । पुटिनको हालैको चीन भ्रमणले त्यसको समीक्षा गर्दै आपसी आर्थिक सहयोग र ब्यापारलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । पुटिनले चीन भ्रमणका क्रममा आपूmसँगै ऊर्जालगायतका बिभिन्न आर्थिक क्षेत्रका वरिष्ठ अधिकारीहरु समेत रहेको ठूलो प्रतिनिधिमण्डल लानुभएको थियो । जसमा वित्तका साथै ठूला उद्योग र खानीसँग सम्बद्ध विशाल कम्पनीका प्रमुखहरु पनि रहेका थिए । पुटिनको भ्रमणका क्रममा नेताद्वयका बीचमा अन्तर्राष्ट्रिय मामिलाहरुमा समेत ब्यापक छलफल भएको पाइएको छ । त्यसक्रममा यसवर्षको अन्त्यमा रुसको अध्यक्षतामा हुने ब्रिक्स सम्मेलन र चीनको नेतृत्वमा हुने शांघाई सहयोग संगठनको बैठकका विषयमा छलफलहरु भएका थिए । त्यसक्रममा शीतयुद्धकालीन मानसिकता अझै पनि कायमै रहेको तथा एकपक्षीयवाद, आधिपत्यवाद, गुट टकराव र शक्ति राजनीतिले विश्व शान्ति र सबै देशहरुको सुरक्षालाई खतरामा पारेको बिषयमा पनि छलफल भएको थियो । प्यालेष्टाइन–इजरायली द्वन्दलाई तत्काल समाधान गर्ने बिषयमा पनि छलफल भएको छ । नेताद्वयकाबीचमा राष्ट्रसंघीय प्रस्तावहरु गम्भीरताका साथ लागू गरिनुपर्ने र प्यालेष्टाइनको प्रश्नलाई दुई–राज्य सिद्धान्तका आधारमा समाधान गरिनुपर्ने बिषयमा सहमति भएको छ । त्यसैगरी चिनियाँ राष्ट्रपतिले युक्रेन संकट समाधानका लागि राजनीतिक समाधाननै सही बाटो भएको दुवैपक्षको विश्वास रहेको बताउनु भएको थियो । उहाँहरुबीच संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्तहरुको पालना गर्ने, सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, सबै पक्षहरुको बैध सुरक्षा सरोकारको सम्मान गर्ने र सन्तुलित नयाँ सुरक्षा संरचना निर्माण गर्नेलगायतका विषयमा पनि छलफल भएको पाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोवल टाइम्सले गत शुक्रबारको अंकमा बहुपक्षीय बिषयमा धेरै महत्वपूर्ण वार्ता भएको र सो वार्ताले चीन र रुसबीचको सम्बन्धमामात्र नभई विश्व राजनीतिमै बिशेष अर्थराख्ने उल्लेख गरेको छ । चीनको दुईदिने भ्रमणको पूर्वसन्ध्यामा पुटिनले सिन्ह्वा समाचार संस्थासँगको एक लिखित अन्तर्वार्तामा रुस र चीनले आर्थिक क्षेत्रमा विस्तारित समान र पारस्परिक लाभकारी सहयोगमार्फत् दुवै राष्ट्रको समृद्धिको प्रवद्र्धन गरिरहेको बताउनु भएको थियो । पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिनको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण थियो । गत सात महिनाको अवधिमा क्रेम्लिन प्रमुखको यो दोश्रो चीन भ्रमण भएको छ । त्यसो त गतबर्ष चिनियाँ राष्ट्रपति सिले पनि मस्कोको महत्वपूर्ण भ्रमण गर्नुभएको थियो । जुन भ्रमणपछि युक्रेनलाई सहयोग गरिरहेको मुख्यत अमेरिका केही पछिहटेको थियो । रुसका राष्ट्रपति पुटिनको गत साता चीनको भ्रमण शुरु हुनु अघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले गत मंगलबारनै किभको अचानक यात्रा गर्नुभएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले ब्लिन्केनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटगरी रुस–युक्रेन युद्धको पछिल्लो अवस्थाकाबारेमा छलफल गर्नुभएको उल्लेख गरेको थियो । रुसी सेनाले गतसातामात्रै पूर्वी युक्रेनमा महत्वपूर्ण सफलता हाशिल गरेको थियो । त्यसक्रममा जेलेन्स्कीले ब्लिन्केनलाई युक्रेनी सेनालाई थप सैन्य सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । जसमा थप हवाई रक्षा सहयोग पनि समावेश छ । रुसले युक्रेनमाथि सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेपछि चीन र रुसमा राष्ट्रपतिका बीचमा तीन पटक भेट भइसकेको छ । जसमा चीनले वार्ताका माध्यमबाट समस्याको समाधानगर्न जोड दिएको छभने रुसी राष्ट्रपति पुटिनले वार्ताका लागि आपूm सधैँ तयार रहेको बताउँदै आउनु भएको छ । पुटिनको चीन भ्रमणअघि रुसका लागि चिनियाँ राजदूत झाङ हानहुईले ग्लोबल टाइम्ससँगको एक विशेष अन्तर्वार्तामा युक्रेन संकटमा युद्धविरामको कुनै संकेत नदेखिएको र द्वन्द अझै बढिरहेको तथा विस्तार भइरहेको बताउँदै बाह्य शक्तिहरुले अझैपनि आगोमा इन्धन थपिरहेको बताउनु भएको थियो । युक्रेनले चाहेको खण्डमा चीन अन्य छिमेकी राष्ट्रहरुको साथमा मध्यस्तता गर्न तयार रहेको छ । जुन कुरा उसले सार्वजनिकरुपमा ब्यक्त पनि गरिसकेको छ । रुस–युक्रेन युद्धलाई बहाना बनाएर अमेरिका र उसका सहयोगी राष्ट्रहरुले रुसमाथि विभिन्न किसिमका प्रतिबन्धहरु लगाएका छन् । चीनभने अमेरिकासहितका विभिन्न देशहरुले रुसमाथि लगाएको प्रतिबन्धको प्रभाव कम गराउने प्रयासमा रहेको छ । अमेरिकाले चीनले रुसलाई हतियार उपलब्ध गराएको आरोप लगाएको छ भने चीनले सो आरोपको बारम्बार अस्वीकार गर्दै पनि आएको छ । गत महिना बेइजिङ भ्रमणकाक्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बीबीसी न्यूजसँगको एक अन्तर्वार्तामा पनि चीनलाई हतियार सहयोग नगर्न चुनौती दिनुभएको थियो ।

ब्लिङ्कनले चीनले रुसका निम्ति गोलीगठ्ठा, ट्यांक, बख्तरबन्द गाडी र क्षेप्यास्त्र बनाउनका निम्ति छोटो तर सघन तालिम दिएर सहयोग गरेको बताउने गर्नुभएको छ । चीनमाथि रुसी प्रतिरक्षा उद्योगलाई सघाएको अमेरिकी आरोप रहने गरेको छ । पश्चिमा सञ्चारमाध्यमहरुले रुसले आयात गर्ने झन्डै ७० प्रतिशत यान्त्रिक पार्टपूर्जा र ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्सका सामग्री चीनबाट जानेगरेको प्रचार गरेका छन् । वाशिंटनले रुसका लागि गत मेमा घोषणा गरेको प्रतिबन्धमा चीन र हङ्कङमा आधारित २० कम्पनीसमेत रहेका छन् । जसमध्ये एउटाले ड्रोन बनाउन प्रयोग हुने सामग्री निर्यात गर्नेगरेको भनिएको छभने अर्को संस्थामाथि मस्कोमाथि पश्चिमा देशहरुले लगाएको प्रविधिसँग सम्बन्धित प्रतिबन्धलाई विफल बनाउन सघाएको आरोप लगाइएको छ । चीनलेभने मस्कोसँगको आफ्नो व्यापारको प्रतिरक्षा गर्दै घातक हतियार नबेचेको र दोहोरो उपयोगको वस्तुको निर्यातमा बिवेकपूर्ण र नियमसंगत ढंगले सन्तुलन कायम गरेको दाबी गर्दै आएको छ । पश्चिमा देशहरुले रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएपछि चीन अहिले रुसका निम्ति कार, लत्ताकपडा र कच्चा पदार्थ पठाउने मुख्य निर्यातकर्ता भएको छ । चीनले सार्वजनिक गरेको एक तथ्यांकअनुसार सन् २०२१ यता चीन र रुसबीचको व्यापार ६४ प्रतिशतले बढेर दुई खर्ब ४० अर्ब डलरको उच्च बिन्दुमा पुगेको छ । जसअनुसार रुसले चीनबाट १११ अर्ब डलरको आयात गरेको पाइएको छभने चीनलाई करिव १२९ अर्ब डलरको निर्यात गरेको थियो । सन् २०२२ मा पनि छअर्ब डलर बराबरको चिनियाँ कार र त्यसका पार्टपूर्जा रुसतर्फ निर्यात भएकोमा सन् २०२३ मा बढेर २३ अर्ब डलर पुगेको पाइएको छ । पछिल्लो समयमा चीनमा रुसी प्राकृतिक ग्यासको प्रयोग हुँदैआएको छभने रुसका सडकहरुमा कैयौँ चिनियाँ सवारीसाधन गुडिरहेको देखिएका छन् । रुसलेभने संसारभर पेट्रोलबाट चल्ने गाडी निर्यात गर्दैआएको छ । पश्चिमा राष्ट्रहरुले रुस र चीनबीचको सम्बन्धलाई असन्तुलितभन्दै रुस चीनसँग बढी आश्रित बन्दैगएको बताउने गरेका छन् । सन् २०२३ सम्मको आंकडालाई हेर्दा चीन रुसको मूल व्यापारिक साझेदार बनेको देखिएको छ । अन्तर्राष्ट्रिय रुपमा भने चीनका लागि रुस छैठौं ठूलो साझेदार हो । रुसी सरकारको झण्डै ५० प्रतिशत राजस्व तेल र ग्याँसबाट संकलन हुनेगरेको छ । रुस–युक्रेन युद्धपछि अमेरिका, यूके र ईयूका देशहरुमा रुसी तेल र ग्याँसको निर्यात घटेको पाइएको छ । जसले गर्दा रुसले चीन र भारतलाई गरिने निर्यातमा बृद्धि गरेको छ । रुसको सो निर्यातले नेपाललाई समेत छोएको छ । सन् २०२३ को तथ्यांकअनुसार साउदी अरबलाईसमेत पछिपार्दै रुस चीनको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता बनेको पाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत फेब्रुअरीमामात्र पनि रुसमाथि ५०० नयाँ प्रतिबन्धको घोषणा गर्नुभएको थियो । जतिबेला करिव १०० कम्पनी र व्यक्तिहरुमाथि निर्यात प्रतिबन्धको घोषणा गरिएको थियो । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेयता अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, यूके र इयूले रुसमाथि १६,५०० भन्दा धेरै प्रतिबन्ध लगाइसकेको पाईएको छ ।

उक्त प्रतिबन्धहरु रुसको अर्थतन्त्रलाई कमजोर बनाउनेमा केन्द्रित छन् । पश्चिमा देशहरुले हतियार उत्पादनमा प्रयोग हुनसक्ने हाई–फाई प्रविधि तथा सामग्रीको निर्यातमाथि पनि प्रतिबन्ध लगाएका छन् । त्यसैगरी रुसबाट सुन र हिरा आयात गर्न पनि प्रतिबन्ध लगाइएको छ । रुसबाट बाहिरिने कतिपय हवाई उडानहरु पनि प्रतिबन्धमा परेका छन् । रुसका राष्ट्रपति पुटिनले हालैको चीन भ्रमणका क्रममा उपरोक्त सबै बिषयमा छलफल गर्दै पश्चिमा राष्ट्रहरुको क्षमता र रणनीतिको समीक्षा गर्नुभएको बताइएको छ । मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनलले गतसाता एक प्रतिवेदन सार्वजनिक गर्दै सन् १९४८ पछिको विश्व व्यवस्था धरापमा रहेको बताएको थियो । विश्वका केही शक्ति राष्ट्रका हठका कारण दोश्रो विश्वयुद्धपछिको विश्व व्यवस्थामा जोखिम थपिएको उसले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । रुसका राष्ट्रपतिको पछिल्लो चीन भ्रमण रुस–युक्रेन युद्धमामात्र सीमत थिएन । खासमा चीन, इरान, रुस र उत्तरकोरिया लगायतका सहयोगी राष्ट्रहरुबीचको सहकार्यलाई थप बलियो बनाउनु पनि थियो । जुन सहकार्यमा बेइजिङले नेतृत्व गर्दै आएको छ भने त्यसलाई मस्कोले पनि स्वीकार गरिसकेको छ । रुसलाई इरान र उत्तरकोरियाले खुलेरै हतियार सहयोग गरेका छन् । त्यसैले अबको अवस्थामा अमेरिका युक्रेन मामिलामा पछाडि हटेनभने उसमाथि चौतर्फी हमला र नाकाबन्दीको संभावना बढेको छ । रुसका राष्ट्रपतिको हालैको चीन भ्रमणले नेपालमा अमेरिकी प्रभावलाई कम गराउन थप मद्दत गर्नेछ । नेपालका शासकहरु रुस–युक्रेनको मामिलामा युक्रेन र इजरायल–हमासको मामिलामा इजरायलको पक्षमा रहँदै आएका छन् । प्यालेष्टिनीहरुलाई त नेपालले ‘आतंककारी’ करार गरेको छ र इरानकोसमेत खुलेर बिरोध गरेको छ । यदि चीन, इरान, रुस र उत्तरकोरिया लगायतको गठबन्धन बलियो भयोभने नेपालको राजनीतिमा पनि ठूलो परिवर्तन आउने संभावना छ । जसलाई नेपालको क्रान्तिकारी शक्तिले आफ्नो पक्षमा पार्ने प्रयास गर्नुपर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चुनाव उपयोग र वहिष्कार

२०८१ असार १७ गते, आईतवार

नयाँ जनवाद

२०८१ असार १० गते, आईतवार