कामीरिता शेर्पा पुनः सगरमाथा चढ्दै

२०८१ जेष्ठ ७ गते, सोमबार


काठमाडौं । विश्व प्रख्यात नेपाली आरोही कामीरिता शेर्पा ३०औं पटक सगरमाथाको चुचुरो चुम्न सोमबार बिहान आधारशिविरबाट उकालो लागेको छ । सगरमाथामा सफल आरोहण भएको ७१ वर्षको इतिहासमा कामीरिता सबैभन्दा धेरै पटक आरोहण गर्ने संसारकै एक्ला आरोही हुन् । वैशाख ३० गते उनले २९औं पटक सगरमाथामा सफल आरोहण गरेको थियो ।
कामीरिता ४ जना विदेशी आरोहीसहित सगरमाथा आरोहणमा निस्किए आधारशिविरमा रहेको फोर्टीन पिक्स एक्सपीडिसनका संस्थापक सीइओ टासी लाक्पा शेर्पाले बताए । अबको ४ दिनमा कामीरिता सगरमाथा शिखर पुगेर फर्किने उनले बताए । यो आरोहण सफल भएपछि कामीरिता संसारकै सर्वाधिक अग्लो हिमचुचुरो सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान बनाउने छ । विश्वभर ‘एभरेष्टम्यान’ नामले पनि कहलिएका कामीरिताले गत वर्षको वसन्तकालीन याममा आफैंले बनाएको २८औं पटकको सगरमाथा आरोहणको रेकर्ड ब्रेक गर्दै वैशाख ३० गते बिहान नेपाली समयअनुसार ७:२५ बजे सगरमाथा शिखरमा २९ औं पटक सफल आरोहण गरेर आधारशिविर फर्केको थियो ।
समुन्द्री सतहबाट करिब ५४ सय मिटर उचाइमा रहेको यो धर्तीकै सबैभन्दा अग्लो सगरमाथा हिमालको आधारशिविरमा ८ दिन विश्राम गरेर ५४ वर्षीय कामीरिता पुन यसै सिजनमा दोस्रो पटकका लागि सगरमाथा आरोहण गर्दैछन् । वि. सं. २०३९ (१२ वर्षको उमेर) देखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएको सोलुखुम्बुको थामेका कामीरिता शेर्पाले पहिलो पटक वि. सं. २०५१ सालको वसन्तकालीन याममा सगरमाथा आरोहण गरेको थियो । शेर्पाले सगरमाथासहित अरु ८ हजार अग्ला हिमाल ४४ पटक पुगिसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु