बिरालोलाई विद्यावारिधिको उपाधि !

२०८१ जेष्ठ ८ गते, मंगलवार


काठमाडौँ । अमेरिकाको भर्मोन्ट स्टेट विश्वविद्यालयस्थित क्यासल्टन क्याम्पसले बिरालोलाई विद्यावारिधिको उपाधि दिएको छ। क्याम्पसले म्याक्स डाँव नामक उक्त बिरालोलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो । क्यासल्टन क्याम्पसले बिरालोलाई उसको मित्रवत् व्यवहारका कारण सम्मानस्वरुप मानार्थ विद्यावारिधिको उपाधि दिएको हो ।
क्याम्पसको मुख्य गेट नजिकैको घरमा बस्ने म्याक्स विद्यावारिधि गरेसँगै क्याम्पसमा थप आकर्षणको केन्द्र बनेको छ । धेरैजसो क्याम्पसभित्रै समय बिताउने म्याक्सले आफ्नो मित्रवत् व्यवहारका कारण क्याम्पसमा आवतजावत गर्ने सबै मानिसहरुको ध्यान आफूतर्फ खिच्ने गरेको छ ।
म्याक्स कैयन् वर्षदेखि क्याम्पसका विद्यार्थी, शिक्षक तथा अन्य कर्मचारीसँगै क्याम्पसको हल तथा पुस्तकालय लगायतमा डुल्ने गरेको छ ।
म्याक्सका मालिक एस्ले डोका अनुसार उनको घरपालुवा बिरालो विद्यार्थीहरुसँग भेट्ने ध्याउन्नमा वर्षौं पहिलेदेखि नै क्याम्पसमा आउन सुरु गरेको थियो । उसलाई कोही मानिसले हातले उचालेको, सँगै खेलेको तथा क्याम्पसको कार्यक्रममा सहभागी गराएको निकै मन पर्दछ ।
विद्यार्थीहरुसँग कहाँ र कहिले भेट्ने भन्ने उसलाई जानकारी हुन्छ । क्याम्पसका सबैले म्याक्सलाई चिन्दछन् । ऊ सबैसँग खेल्नमा रुची राख्दछ। यहाँसम्म कि सेल्फीका लागि समेत पोज दिन्छ ।
विश्वविद्यालयले आफ्नो फेसबुक पेजमा एक पोस्ट गर्दै म्याक्स कैयौं वर्षदेखि विश्विद्यालयको परिवारको सदस्यको रुपमा रहेको जनाएको छ ।
विश्वविद्यालयको नियमित दीक्षान्त समारोहमा म्याक्स उपस्थित नहुने र उसका लागि छुट्टै कार्यक्रमको आयोजना गरेर विद्यावारिधिको उपाधिले विभूषित गरिने बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु