अखिल (समाजवादी) द्वारा शिक्षालय सुधार अभियान सुरु

२०८१ जेष्ठ १५ गते, मंगलवार


काठमाडौँ । अखिल (समाजवादी) ले लुम्बिनी प्रदेशमा शिक्षालय सुधार अभियान सुरु गरेको छ । संगठनले सोमबार प्रदेश अन्तर्गतका सबै जिल्लामा एकैसाथ शिक्षालय सुधार, संगठन सुदृढीकरण एवम विस्तार अभियान २०८१ को उद्घाटन गरेको हो ।
अखिल (समाजवादी) ले लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पुर्व, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दियामा संगठनको जिल्ला समितिको आयोजनामा अभियानको उद्घाटन गरेको जनाएको छ ।
शिक्षालय सुधार अभियान अन्तर्गत संगठनले प्रत्येक जिल्लाका सामुदायिक एवम सरकारी क्याम्पसहरुमा वृक्षारोपण, सरसफाइ, विद्यार्थीहरुसंग शैक्षिक सवालका विषयमा अन्तरक्रियाहरुमार्फत अभियानको सुरु गरिएको संगठनका प्रदेश इन्चार्ज मदन सीले जानकारी दिएका छन् ।
यस्तै अखिल (समाजवादी) दाङले जिल्लाको पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा सरसफाइ गरि अभियान सुरु गरेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा सरसफाइमार्फत सुरु गरिएको शिक्षालय सुधार, संगठन सुदृढीकरण एवम विस्तार अभियानलाई सम्बोधन गर्दै अखिल (समाजवादी) लुम्बिनी प्रदेश इन्चार्ज मदन सीले नेपालका शिक्षालयहरु व्यापक सुधारको आवश्यकता रहेको बताए । नेता मदनले भने– ‘ यहाँका शिक्षालयहरु बेरोजगार उत्पादन गर्ने कारखानामा बदलिएका छन् । यी बेरोजगारका कारखाना मात्रै होइन पछिल्लो समय वातावरणका हिसाबले पनि स्वच्छ छैनन् । यतिसम्म कि यहाँ मदिराजन्य बस्तुका बोतल, सुर्तीजन्य बस्तुका प्याकेटहरु छ्यापछ्याप्ती भेटिएका छन्, यो अत्यन्त दुखद बिषय हो । हामी यो फोहोर डंगुर सफा गर्ने उद्देश्यले यो अभियान सुरु गरेका छौँ ।’
हामी नेपालका बिद्यार्थीहरुले यहीँ देशको माटोमा रोजगार गर्न पाउनुपर्छ भनिरहेका छौँ , उनले थपे,‘ यो शैक्षिक पद्धति र प्रणाली दुबै ठिक छैनन् । यहाँको शिक्षा श्रमसंग जोडिएको छैन । मानवीय संसाधन र प्राकृतिक स्रोत साधनलाई मिलाएर अघि बढ्नुपर्ने ठाउँमा अहिलेको राज्यव्यवस्थाले अवैज्ञानिक शिक्षा दिएर श्रमिक जनताका छोराछोरीलाई बिदेश जान बाध्य पारेको छ । यसको विकल्पमा हाम्रो संगठन नेपाली माटो सुहाउँदो समाजवादी शिक्षा प्रणालीको कुरा उठाइरहेका छौँ ।’
नेता मदन सीले समाजवादी शिक्षा प्राप्तिका लागि जुझारु युवाविद्यार्थीहरुलाई संगठनको झण्डामुनी गोलबन्द हुन समेत अपिल गरे ।
शिक्षालय सुधार, संगठन सुदृढीकरण एवम विस्तार अभियान लुम्बिनी प्रदेशमा ४ महिनासम्म चलाइने संगठनले जनाएको छ।-हेमन्तप्रकाश वली

प्रतिक्रियाहरु