समाजवादी शिक्षा आजको आवश्यकता

२०८१ जेष्ठ १७ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले समाजवादी शिक्षा आजको आवश्यकता भएको बताएका छन। अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता अनिल सीले हाल शिक्षामा भएको वर्गीय विभेद अन्त्यसहितको समाजवादी शिक्षा आजको आवश्यकता भएको बताउदै अखिल (समाजवादी)का आगामी योजना, पछिल्लो राजनीतिक परिवेश र अन्तर्राष्ट्रिय विषयमा बैठकलाई प्रशिक्षित गरेका थिए ।
विरगंज-६, आदेशनगरमा बसेको अखिल (समाजवादी)को उक्त बैठकले विगतका कार्यक्रमको समीक्षा तथा आगामी योजना तर्जुमासहित कार्यन्वयन गर्ने महत्त्वपूर्ण निर्णय गरेको बताइएको छ ।
संगठनका केन्द्रिय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सीको अध्यक्षतामा बसेको बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता रहेको छ । त्यस्तै नेकपा पर्सा जिल्ला सेक्रेटरी फिरोज सी र विवेक सी लगायतको आतिथ्यता रहेको थियो ।
बैठकले जिल्ला बैठकको मिति तय गरेको छ । साथै कार्यक्षेत्रको बाँडफाँडसहित इकाई तथा जिल्ला भेला/सम्मेलनको तयारी गर्ने निर्णय गरेको छ । जसमा चितवन/पर्सा जिल्ला इन्चार्ज सुदिप सी, मकवानपुर/बारा जिल्ला इन्चार्ज सुर्य सी र धनुषा/महोत्तरी जिल्ला इन्चार्ज रमण सी रहेका छन् । त्यसैगरी बेरोजगार विद्यार्थीहरुलाई रोजगारमा जोडाउन विशेष पहल गर्नुका साथै व्यवसाय क्षेत्रमा सहभागी गराउने निर्णय गरेको छ ।
त्यस्तै प्रचलित कानुन विपरीत लागू औषध बेचबिखन तथा कर छली गरि सामान ओसारपसारमा रोक लगाउने र शैक्षिक माफिया विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै प्राकृतिक सम्पदा दोहन रोक्ने र चुरे संरक्षण कार्यमा जुट्ने निर्णय समेत गरेको छ । सँगै समाजमा व्याप्त सामाजिक विकृति, विसंगति र रुढीवादी परम्परा विरुद्ध सचेतना अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु