सन् २०२४ मा विश्व बेरोजगारी घट्ने

२०८१ जेष्ठ १७ गते, बिहीबार


काठमाडौँ । राष्ट्रसङ्घीय एजेन्सीले यस वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने जनाएको छ । यद्यपि एजेन्सीले असमानतालाई सम्बोधन गर्न ‘ढिलो प्रगति’ को चेतावनी दिँदै वृद्धिको अघिल्लो भविष्यवाणीलाई उल्ट्याएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ । यो सन् २०२३ मा पाँच प्रतिशतबाट बढेर यस वर्ष पाँच दशमलव दुई प्रतिशत हुने पूर्वानुमानपछि आएको हो ।
जेनेभास्थित आधारित राष्ट्रसङ्घीय एजेन्सीले एक प्रतिवेदनमा सन् २०२५ मा यो दर दर चार दशमलव नौ प्रतिशतमा रहने प्रक्षेपण गरेको छ । यद्यपि आइएलओले चेतावनी दिँदै भनेको छ, “श्रम बजारमा असमानता कायम छ, कम आय भएका देशहरूमा महिलाहरू विशेषरूपमा प्रभावित छन् ।”
प्रतिवेदनअनुसार १८ करोड ३० लाख मानिसले बेरोजगारीको परिभाषा पूरा गर्छन् । अर्थात उनीहरू सक्रियरूपमा कामको खोजीमा छन् र तुरुन्त उपलब्ध छन् । तर काम गर्न चाहने कामबिनाको व्यक्तिको सङ्ख्या ४० करोड २० लाख पुगेको छ ।
महिलाहरू अनिच्छापूर्वक कामबाट बाहिर हुने र अवसरहरूको अभावबाट असमानरूपमा प्रभावित हुने सम्भावना रहेको एजेन्सीले जनाएको छ । कम आय भएका देशहरूमा महिलाहरू विशेषगरी पीडित रहेका थिए । पुरुषहरूको १५ दशमलव तीन प्रतिशतको तुलनामा २२ दशमलव आठ प्रतिशत महिलाले काममा नभएको काम चाहन्थै । उच्च आय भएका देशहरूको लागि महिलाहरूको यो दर नौ दशमलव सात र पुरुषहरूका लागि सात दशमलव तीन प्रतिशत थियो ।
महिलाहरूले पुरुषको तुलनामा श्रमशक्ति पूर्णरूपमा छाड्ने सम्भावना धेरै रहेको प्रतिवेदनले चेतावनी दिएको छ । प्रतिवेदनमा सन् २०२४ मा काम गर्ने उमेरका ४५ दशमलव छ प्रतिशत महिलाहरू र ६९ दशमलव दुई प्रतिशत पुरुषहरू कार्यरत रहेको उल्लेख छ ।
“विश्वव्यापी असमानता कम गर्ने हाम्रो प्रयासको बावजुद श्रम बजार एक असमान खेल मैदान बनेको छ”, आइएलओका महानिर्देशक गिल्बर्ट होङबोले प्रेस विज्ञप्तिमा भन्नुभयो, “हामीले समावेशीकरण र सामाजिक न्यायलाई हाम्रा नीति र संस्थाहरूको केन्द्रविन्दुमा राख्नुपर्छ ।”

प्रतिक्रियाहरु