इजरायलद्वारा गाजामा पुन: आक्रमण

२०८१ जेष्ठ २४ गते, बिहीबार

काठमाडौँ । इजरायलले पछिल्लो पटक बुरेज शरणार्थी शिविरको पूर्वी इलाका र मध्य गाजाको डेर अल–बलाह सहरमा आक्रमण शुरु गरेको छ । बुधबार बिहान शुरु भएको आक्रमणमा कयौँ मानिस मारिएको बताइएको छ।
हवाइ तथा स्थगलगत आक्रमणमा ७० जनाभन्दा बढी मानिस मारिएको एक गैरसरकारी संस्था साइन्स फ्रन्टियर्सले बताएको छ। मारिनेमा अधिकांश महिला र बालबालिका छन्। अमेरिकाले मंगलबार मात्रै इजरायललाई गाजामा युद्धविराम गर्न दबाब दिएको थियो भने हमास समूहलाई इजरायली सर्त पालना गरी युद्धविरामका लागि तयार रहन आग्रह गरेको थियो। तर त्यसको भोलिपल्ट बिहानैदेखि इजरायलले अर्को शहरलाई निशाना बनाएर आक्रमण शुरु गरेको अधिकारीहरूले जनाएका छन्।
इजरायल हमासको अन्त्य नगरी युद्ध नरोक्ने मनस्थितिमा छ। इजरायलले गाजामा जारी राखेको आक्रमणमा ७ अक्टोबर यतामात्रै ३६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। यसैबीच रुसले पश्चिमा देशमाथि आक्रमणका लागि हतियार दिने धम्की दिएको छ। रुसमा आक्रमण गर्न अमेरिका लगायतका देशले युक्रेनलाई हतियार दिने तयारी गरेको विषयमा आपत्ति जनाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरूले पनि त्यसो किन नगर्ने भन्दै यस्तो चेतावनी दिएका छन्।
एक पत्रकार सम्मेलनमा पुटिनले पश्चिमा देशका संवेदनशील क्षेत्रमा आक्रमणका लागि आफ्ना सहयोगीलाई हतियार उपलब्ध गराउने चेतावनी दिएको बीबीसीले जनाएको छ। उनले जर्मनी युक्रेनलाई लामो दूरीको हतियार दिन सहमत भएको भन्दै यसले जर्मनीसँगको सम्बन्ध अन्त्य हुने चेतावनी दिए। -एजेन्सी

प्रतिक्रियाहरु