संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌मा ५ अस्थायी सदस्य थपिए

२०८१ जेष्ठ २५ गते, शुक्रबार


काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाले डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्‌को अस्थायी सदस्य चुनेको छ । यी पाँचै देशको कार्यकाल २ वर्षको हुने छ । उनीहरुको कार्यकाल आगामी सन् २०२५ को १ जनवरीबाट सुरु हुने छ । आगामी ३१ डिसेम्बरदेखि इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीजरल्याण्डको कार्यकाल समाप्त हुनेछ । उनीहरुको स्थान नवनिर्वाचित डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियाले लिने छन् । सुरक्षा परिषद्‌मा पहिलेदेखि नै अल्जिरिया, गयाना, दक्षिण कोरिया, सियरा लियोन, स्लोभेनिया अस्थायी सदस्य छन् ।
संयु्क्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा १० अस्थायी र ५ स्थायी सदस्य हुन्छन् । अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य हुन् । स्थायी देशहरुलाई भिटो प्रयोग गर्ने अधिकारसमेत हुन्छ । १० अस्थायी सदस्य राष्ट्र दुई वर्षका लागि मात्र चुनिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा निर्वाचनमार्फत् अस्थायी सदस्य राष्ट्र चुनिन्छ । महासभाका १९३ सदस्य राष्ट्रहरुले अस्थायी सदस्य राष्ट्र चुन्दा क्षेत्रीय प्रतिनिधित्वलाई समेत ख्याल गरिन्छ । ५–५ अस्थायी सदस्य राष्ट्र चुन्न हरेक वर्ष निर्वाचन हुन्छ । स्थायी र अस्थायी गरी सुरक्षापरिषदका १५ सदस्य राष्ट्रको जिम्मेवारी विश्वमा शान्ति सुरक्षालाई कायम राख्ने हुन्छ ।

प्रतिक्रियाहरु