१० महिनामा १२ खर्ब रेमिट्यान्स भित्रियो

२०८१ जेष्ठ २८ गते, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको १० महिनामा करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको जनाएको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको १० महिना (२०८० साउन– २०८१ वैशाख) सम्मको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी सार्वजनिक प्रतिवेदन अनुसार १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । चैतसमम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स वैशाखमा १ खर्ब १६ अर्बले बढेको हो ।
गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । गत विगत दुई वर्षमा उच्च दरमा विदेश गएका र चालु आवमा समेत संख्या केही घटेपनि नयाँ श्रम स्वकृति र नवीकरण समेत गर्दा ५ लाख भनदा धेरै छ । वैदेशिक रोजागरीमा जाने नेपाली उच्च हुँदा पछिल्लो २ वर्षयता रेमिट्यान्सको वृद्धि उच्च छ ।
चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ ।
यसैगरी, नेपाल राष्ट्र बैंकले गत वैशाखमा महँगी करिब साढे ४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३.११ प्रतिशत, दाल तथा गेडागुडी १०.८५, मरमसला ८.९८, खाद्य तथा खाद्यजन्य पदार्थ ७.४२ र चिनी तथा चिनीजन्य वस्तुको ७.२५ प्रतिशतले बढेको छ भने घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ७.१३ प्रतिशतले घटेको छ ।
त्यसैगरी समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.२६ प्रतिशत, शिक्षा ५.६४ र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशतले घटेको छ ।
वैशाखमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराई ४.३२, पहाड ४.७० र हिमालको ४.२२ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिना ती क्षेत्रको मुद्रास्फीति क्रमशः ७.६८, ७.१५, ७.५७ र ७.१२ प्रतिशत थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु