‘जनयुद्धले गणतन्त्र र मधेस आन्दोलनले संघीयता ल्याएको हो’

२०८१ जेष्ठ २९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सीले नेपालको सामन्तवादलाई माओवादीले संचालन गरेको जनयुद्धले नेपालमा गणतन्त्र र मधेस आन्दोलनले संघीयता ल्याएको बताएका छन। सोमबार जनकपुरमा जनता समाजवादी पार्टीको राष्ट्रिय सम्मेलनलाई शुभकामना दिदै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले आफ्नो सत्ता र व्यवस्थाका लागि जनताले विद्रोह गर्नु अधिकार भएको बताउदै नेपालमा गणतन्त्र र संघीयता जस्ता परिवर्तन भएपनि यो पूर्ण नेपाली जनताको पक्षमा नभएको भन्दै पूर्ण परिवर्तनका लागि एकपटक विद्रोह गर्नु आवश्यक भएको बताए ।
उनले भने – ‘नेपालमा अस्थीर राजनीति छ, एउटा निकास चाहिएको छ, त्यो समाजवाद हो, अहिले संविधान संशोधन गरेर होस वा जनमतसंग्रह गरेर होस नेपालमा समाजवाद चाहिन्छ, राजनीतिक संकटको निकास समाजवाद मात्र हो । समाजवादी र कम्युनिष्टहरुले कहिल्यै युद्ध चाहदैनन् बरु जनताको व्यवस्था र सत्ता चाहान्छ। पुँजीवादीहरु युद्ध चाहान्छन, समाजवादीहरु युद्ध चाहदैनन्, समाजवादीहरु जनताको व्यवस्था र सत्ता चाहान्छन,जनताको न्यायपूर्ण आवाजहरु बन्दुकले दबाउन खोजे जनताले विद्रोह गर्नु अधिकार हो ।’
महासचिव विप्लव सीले आफ्नो पार्टीको अरु कुनै पनि चिन्ता र स्वार्थ नभएको स्पष्ट पार्दै नेपाली जनतालाई एकपटक सत्ताको मालिक बनाउने सपना भएको बताए । उनले नयाँ धुव्रीकरण र एकता नेपालमा आवश्यक भएको र अपूर्ण परिवर्तनलाई पूर्णतामा लिन एउटा आन्दोनल आवश्यक भएको बताउदै भने – ‘आज जनता पुरै अधिकार सम्पन्न छैनन् । परिवर्तनका लागि लडेका शक्तिहरुलाई अपराधी बनाउन खोजिदैछ, माओवादी जनयुद्धले नेपालमा गणतन्त्र ल्याएको हो, मधेस आन्दोलनले संघीयता ल्याएको हो,यो कसैका सामु लुकाउने कुरा होइन ।’

प्रतिक्रियाहरु