‘ अव देशको उद्दार र रक्षा नेकपाले गर्छ ’

२०८१ जेष्ठ २९ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य विषमले अब देशको उद्दार र रक्षा नेकपाले गर्ने ठोकुवा गरेका छन् । सोमबार नेकपा दाङले तुलसीपुरमा ३ नं. क्षेत्रको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता विषम सीले देशको रक्षा संसदवादी दलाल र नेताबाट नहुने ठोकुवा गर्दै भने- – ‘ यो देशका दलालहरुले मुलुक सिध्याउन लागिसकेका छन् । यो देशको रक्षा अब यी संसदवादी दलालहरुबाट कदापी हुँदैन । अब यो देशको उद्दार र रक्षा गर्ने महान दायित्व नेकपाको हो । हामी कुनैपनी हालतमा यो देशलाई बिदेशीको हातमा सुम्पिन दिदैनौँ । आफ्नै पौरख र श्रमले यो मुलुकलाई आत्मनिर्भर, स्वाधिन र समृद्धि बनाउछौँ ।’
नेता विषम सीले सबै प्रकारका क्रान्तिको रुप एकीकृत जनक्रान्ति भएको उल्लेख गर्दै भने- ‘ एकीकृत जनक्रान्ति भनेको सबै प्रकारका क्रान्तिको रुप हो । जनयुद्ध , जनविद्रोह विभिन्न किसिमका असफल वा सफल क्रान्तिका मोडेलहरुको कार्यदिशा सबै यसैमा छ । यो जनयुद्ध पनि होइन तर यसमा जनयुद्ध पनि छ । शान्तिपूर्ण संघर्ष पनि छ कानुनी संघर्ष पनि छ । जुनबेला जे आवश्यक पर्छ त्यहि प्रयोग गर्ने हो । हामीले विकास गरेको क्रान्तिको कार्यदिशा नेपाली विशेषता पकडेको मौलिक कार्यदिशा हो । यसले नेपालको दलाल पुजीवादी राज्यसत्ता अन्त्य गरि नेपालमा समाजवादी राज्यव्यवस्थाको स्थापना गर्दछ । हामीलाई नबुझेर मान्छेहरु आरोप लगाइरहेका छन् त्यो कुरा सत्य होइन । केही मान्छेहरुले नेकपा र एकीकृत जनक्रान्ती बुझेका छैनन् । अन्धाले हात्ती छामेजस्तो गरिरहेका छन् । हामी हाम्रो तरिकाले लडिरहेका छौँ । अहिले नेपालको दलाल पुजीवाद र साम्राज्यवादलाई कसरी परास्त गर्न सकिन्छ भनेर नयाँ संस्लेसन गरेका छौँ । हामीले भनेका छौँ कि चुनावलाई परम्परागत ढंगले हेर्नु हुदैँन । चुनाव पनि एकीकृत जनक्रान्तिको मोर्चा बन्न सक्छ । आगामी चुनावलाई नेकपाले संघर्षको मोर्चा बनाएर देशव्यापी प्रयोग गर्छ । संसदीय व्यवस्थाको भण्डाफोर गर्न र समाजवादको प्रचारप्रसार गर्न ०८४ को निर्वाचनलाई प्रयोग गर्ने नीति बनाएका छौँ ।’
नेता विषम सीले अहिले नेकपाको पहिचान समाजवाद भएको बताउदै भने- ‘ समाजवाद ल्याउने हो भने अहिलेको यो दलाल पुजीवादी संसदीय व्यवस्थाको अन्त्य अनिवार्य छ । अघिल्लो सत्ताको कोखबाट पछिल्लो सत्ता जन्मन्छ । त्यसैले दलाल पुजीवादीको कोखबाट एकदिन अवश्य समाजवाद जन्मछ तर जन्मिन्छ भनेर सचेत प्रयत्न गरिएन भने त्यो सत्ता धेरै ढिला आउन सक्छ । नेकपाले समाजवादका लागि क्रान्तिको सचेत प्रयत्न गरिरहेको छ त्यसका लागि हामीले एकीकृत जनक्रान्ति चलाइरहेका छौँ ।’
नेता विषम सीले नेकपाले क्रान्तिको दियो बालेर आएको बताउदै भने- ‘ हामीले प्रचण्ड बाबुरामसंग बिद्रोह गर्दा आम कार्यकर्ताले हामीलाई पद नपाएर नेता बन्नलाई पार्टी फुटाएको भन्दै फुटवादीको आरोप लगाए तर हामी जनताको बिचमा काँध थापेर गयौं । नयाँ संश्लेषणसहित जनतामा गएका हौं । हामीलाई प्रतिबन्ध लगाइयो तर हामी झुकेनौँ । जनताका बिचमा हाम्रा विरुद्ध अनेकौं षड्यन्त्र भए तर ती सबै झुठा सावित भए अन्ततः जनताले हाम्रो बिद्रोहलाई स्वीकृत गरिदिए, हामी सफल भयौं । अहिले नेकपा वैकल्पिक धारको रुपमा उभिएको छ । बजारका नक्कली कम्युनिस्टहरुलाई जनताले पहिचान गरेका छन् । दर्शनलाई जीवन व्यवहारमा लागू गरेको हाम्रो पार्टीप्रति जनताको अगाध विश्वास छ ।’
नेता विषम सीले समाजवादलाई फराकिलो ढंगले बहसमा ल्याउनु पर्ने बताउदै भने- ‘ काँग्रेसको प्रजातान्त्रिक समाजवाद के हो ? विपिले त्यतिबेला भने जस्तो एक हल गोरु, एउटा दुहुनो भैंसी, एउटा घर मात्रैले आज पुग्दैन त्यसका विकास गर्नुपर्दछ । आजको आवश्यकता प्रत्येक नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, मनोरञ्जनको ग्यारेन्टी राज्यले गर्नुपर्दछ । नेपालमा समाजवाद नभन्ने कुनै पार्टी नै छैनन् तर त्यसको ठोस र मुर्त रुप दिन सकेका छैनन् । हामिले दलाल पुजीवादको विकल्पमा नेपाली विशेषताको समाजवाद प्रस्ताव गरेका छौँ । यो नै अहिलेको राजनीतिक, आर्थिक, सामाजिक एवम सांस्कृतिक संकटको निकास हो । समाजवादले हरेक नागरिकको न्युनतम आवश्यकता पूरा गरिदिन्छ ।’

नेता विषम सीले दलाल पुजीवादबाट वैज्ञानिक समाजवादमा पुग्ने पहिलो स्टेप नेपाली विशेषताको समाजवाद भएको बताउदै भने- ‘पुंजीवादले असमानता बढाउछ भने समाजवादले समानता दिन्छ । समाजवादले हरेक मान्छेको न्युनतम आवश्यकता पूरा गरिदिन्छ । समाजवाद सामुहिक व्यवस्था हो तर व्यक्तिका नितान्त निजित्वको पनि अधिकार सुरक्षित हुन्छ ।’
नेता विषम सीले साम्राज्यवाद कम्युनिस्टहरुका विरुद्धमा नयाँ ढंगले आइरहेकाले त्यसका विरुद्ध सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुको एकता, ध्रुवीकरण र सहकार्य अनिवार्य रहेको बताए । उनले पार्टीको केन्द्रीय समितिको बैठकले साम्राज्यवादका विरुद्ध लडाइँका सबै मोर्चाहरु खुल्ला गरेर जाने निर्णय गरेको समेत बताउदै माओवादी धाराका बिचमा एकता अपरिहार्य भएको र इमानदार माओवादी नेताकार्यकर्तालाई गहिरो समिक्षासहित माओवादी आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्न पहल लिनुपर्ने समेत उल्लेख गरे ।
सोही प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य एवम दाङ १ नं. क्षेत्र इन्चार्ज विक्रम सी, पार्टीका केन्द्रीय सदस्य एवम दाङ २ नं. क्षेत्र इन्चार्ज पाटन सी, पार्टीका केन्द्रीय सदस्य एवम दाङ ३ नं. क्षेत्र इन्चार्ज प्रदीप सी, पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सी लगाएतले प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए ।
पार्टीको ३ नं. क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिव ४२ जनाले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका उदय वलीसहित ४२ जनाले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
नेकपा प्रवेश गर्नेहरुमा तुलसीपुर -९ का नेपाली कांग्रेसका कृयासिल सदस्य उदय वलीसहित मोहन सुनारको नेतृत्वमा तुलसीपुर -७ बाट २१ जना , तुलसीपुर -४ बाट ८ जना , तुलसीपुर – ५ बाट ४ जना , तुलसीपुर -९ बाट २ जना , तुलसीपुर – ३ बाट १ जना , तुलसीपुर – १८ बाट १ जना तुलसीपुर – २ बाट १ जना , तुलसीपुर -१९ बाट ३ जना र दंगिशरण -४ बाट १ जना गरि ४२ जनाले विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य विकास सी, अखिल (समाजवादी) का लुम्बिनी प्रदेश इन्चार्ज मदन सी, पार्टीका जिल्ला सल्लाहकारहरु सुरेसश सी, दोवाराम सी, मेघराज सी, वंशिधर सी, एकीकृत जनक्रान्तिका सहिद परिवार मालती सी, युवा संगठन नेपालका केन्द्रीय सचिव अनिल सी, युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जिवनी सी लगाएतको आतिथ्यता रहेको थियो ।
नेकपा शान्तिनगरका इन्चार्ज जनक सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए भने कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य निर्मल सीले गरेका थिए ।
पार्टीको राजनीतिक एवम विचारधारात्मक प्रशिक्षण कार्यक्रममा पार्टी निकट सामना परिवारका कलाकारले विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरु