कुवेतको श्रमिक क्याम्पमा आगलागी: तीन नेपाली घाइते

२०८१ जेष्ठ ३१ गते, बिहीबार


काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा आगलागी हुँदा तीन जना नेपाली घाइते भएको जनाएको छ । दूतावासले सो क्याम्पमा पाँच जना नेपाली रहेकोमा तीन जना सामान्य घाइते भएको र दुई जना सुरक्षित रहेको जनाएको छ ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले घाइते भएका नेपाली श्रमिकको विषयमा जानकारी लिएका छन् । नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको विषयमा जानकारी लिएका हुन् ।
बुधबार विहान कुवेतमा आप्रवसाी श्रमिकहरु बस्ने क्याम्पमा आगलागी भएको थियो । आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भइरहेको छ । उपचाररत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ । दिनेश कुमार मण्डल भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भइसकेको दूतावासले जनाएको छ ।
त्यस्तै, जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ । आगलागीको घटनामा परेर हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ । उक्त आवासगृहमा रहेका मानिसहरूमा प्रायः सबैजसो आप्रवासी कामदार थिए ।

प्रतिक्रियाहरु