रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु

२०८१ जेष्ठ ३१ गते, बिहीबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु भएको हो । यो सँगै रुस युक्रेन युद्धमा मर्ने नेपालीको संख्या २५ पुगेको छ । परराष्ट्र मन्त्रालय श्रोतका अनुसार रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भइ युक्रेनसँगको युद्धका क्रममा युक्रेनको कब्जामा रहेका पाँच नेपालीको अवस्था अझै अज्ञात रहेको छ । यसरी कब्जामा रहेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतिक पुन र गोरखाका ईश्वर लामिछाने छन् ।
नेपाल सरकारले लगातार प्रयास गरिरहेको भएपनि रुसी सेनामा हालसम्म कति नेपाली भर्ती छन्, कति घाइते छन् र कतिको मृत्यु भयो भन्ने तथ्याङक रुसी सरकारले नेपाललाई दिएको छैन । नेपाल सरकारले रुसी सरकारलाई पटकपटक गरेको आग्रह र पत्राचारका बाबजुद पनि रुसी विदेश मन्त्रालयले उक्त विषय रक्षा मन्त्रालयको भएको उल्लेख गर्दै नेपाललाई जवाफ दिन आनाकानी गरेको हो । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रुपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । यसैबीच रुस मामिलामा भइरहेको घट्ना र अहिले उत्पन्न संकटका सम्बन्धमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा गठन भएको एक उच्च स्तरीय कार्यदलले काम गरिरहेको छ ।

प्रतिक्रियाहरु