अष्ट्रेलियाद्वारा विद्यार्थी भिसामा थप कडाइ

२०८१ जेष्ठ ३१ गते, बिहीबार


काठमाडौँ । अष्ट्रेलियाले पर्यटक भिसामा रहेका तथा टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेको छ । अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले १ जुलाईदेखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् । यी नियमहरू लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् । खासगरी विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अष्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको मन्त्री ओनिलले स्पष्ट पारेकी छन् ।
गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको मन्त्री ओनिलले विज्ञप्तमा उल्लेख गरेकी छन् ।
त्यस्तै, ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः विद्यार्थी भिसामा नै अष्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् । यसलाई गत वर्ष जारी गरिएको आप्रवासन रणनीति कार्यान्वयनकै शृङ्खलाको रूपमा व्याख्या गरिएको छ । आगन्तुक भिसा र अस्थायी स्नातक भिसा (दुई भिसा क्याटागोरी सबक्लास ६०० र ४८५) मा रहेकाहरूले अबदेखि अनसोर (अष्ट्रेलिया भित्रैबाट) विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन्। यद्यपि त्यस्ता विद्यार्थीहरूले आफ्नो देश फर्किएर पुनः विद्यार्थी भिसामा आवेदन दिन भने पाउनेछन् ।
यसअघि टुरिस्ट भिसामा अष्ट्रेलिया पुगेर त्यसलाई विद्यार्थी भिसामा बदलेर उतै बस्ने अभ्यास बढिरहेको थियो । अध्ययन सकेपछि पाइने ग्राजुएट भिसा (टीआर) को अवधि सकिएपछि पुन: विद्यार्थी भिसामा आवेदन दिएर यतै बस्नेको ठूलो सङ्ख्या रोक्न पनि यसले योगदान पुग्ने मन्त्री ओनिलले संकेत गरेकी छन् ।
कोभिड महामारीपछि विदेशी विद्यार्थी ह्वात्तै बढेर ७ लाख ४० हजारभन्दा बढी पुगेपछि अष्ट्रेलियाले नयाँ आप्रवासन नीति सार्वजनिक गर्दै यसलाई उल्लेख्य रूपमा घटाउने रणनीति लिएको थियो ।
अष्ट्रेलिया सरकारको नयाँ नियमहरूले नेपाली विद्यार्थीहरू पनि प्रभावित हुने रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत शर्मा बताउँछन् । हाल अष्ट्रेलियामा ५५ हजार ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । चीन र भारतपछि सबैभन्दा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् ।

प्रतिक्रियाहरु