महोत्तरीको गौशाला नगरपालिकामा चरम भ्रष्ट्राचार !

२०८१ असार २ गते, शनिबार


काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकामा चरम भ्रष्ट्राचार हुने गरेको तथ्य फेला परेको छ । नगरपालिकामा भइरहेका विकास निर्माणका कार्यमा कमसल खालका निर्माण सामाग्री प्रयोग गरि चरम भ्रष्टाचार र अनियमितता गरेको तथ्य फेला परेको हो । निर्माणको जिम्मा लिएको उष्ण इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी,नगरपालिकाका इन्जिनियर अजय यादव, वडा अध्यक्ष र इलाका प्रहरी प्रमुखको समेत मिलेमत्तोमा भ्रष्टाचार भएको तथ्य फेला परेको बुझिएको छ ।
नगरपालिकाको १२ नम्बर वडाको मुन्नी मिस्त्री विद्यालयको भवन र बन्दै गरेको वडा कार्यालय भवन घेरबार गर्दा दुई नम्बरी इट्टा प्रयोग भएको हो । कन्सल्टेन्सी संचालक सञ्जु सिंह र नगरपालिकाका इन्जिनियर अजय यादव तथा वडाध्यक्ष कुशेश्वर सिंहको मिलेमत्तोमा प्रतिवटा ८ रुपैयाँ पर्ने कमसल खालको इट्टा प्रयोग गर्दै भ्रष्टाचार गरेका हुन् । ‘मापदण्डमा १२ रुपैयाँ पर्ने इट्टा प्रयोग गर्नुपर्ने व्यवस्था छ । तर ८ रुपैयाँमा कमसल खालको इट्टा प्रयोग गरेको पाइएको छ ।’, स्थानीय एक युवाले भने । निर्माण कार्यमा दुई नम्बरी इट्टा प्रयोग भएपछि नगरपालिकाले यसको अनुगमनसमेत गरेको थियो ।
उपमेयर रेनु कुमारी महतोको नेतृत्वमा भएको अनुगमनले दुई नम्बरी इट्टा प्रयोग भएको भन्दै तत्कालका लागि काम रोकेको छ । साथै, भुक्तानी नगर्न नगरपालिकालाई सिफारिससमेत गरेको छ । ‘हामी अर्को वडामा अनुगमन गर्न गएका थियौं । अनुगमनका क्रमका केही युवा आएर १२ नम्बर वडाको विद्यालय र वडा कार्यालय निर्माणमा कमसल इट्टा प्रयोग भएको गुनासो गर्नुभयो । म योजनाको कर्मचारीलाई लिएर तत्काल अनुगमनमा गएँ ।’, टेलिफोन संवादमा उपमेयर महताे भनिन्, ‘त्यहाँ जाँदा दुई नम्बरी इट्टा झारिएको थियो । दोश्रो तलामा गारो लगाउने काम भइरहेको थियो । गारो लगाएको ठाउँमा गएर हेर्यौं, त्यहाँ पनि दुई नम्बरी इट्टा प्रयोग भएको पाइयो । मसँग भएको योजनाको कर्मचारीलाई मैले सोधें । उहाँले मापदण्ड विपरितको इट्टा प्रयोग भएको बताउनु भयो ।’
महताेले आफूले विद्यालय निर्माणको काम रोकेर भुक्तानी पनि रोकिदिएको बताउँदै इट्टा परिक्षणका लागि काठमाडौं पठाउने निर्णय गरेको बताइन् । ‘हामीले अनुगमनबाट कैफियत देखेपछि इट्टा परिक्षणका लागि काठमाडौं पठाउने निर्णय गरेका थियौं तर नगरपालिकाले अझैं पठाएको छैन ।’, उनले भनिन्, ‘मैले भुक्तानी नगर्न पत्र लेखेको छु । काम पनि अहिले रोकिएको छ ।’ विद्यालय भवन निर्माणको काम रोकिएको भएपनि वडा कार्यालयको पर्खाल निर्माणले भने निरन्तरता पाएको थियो ।
निर्माणमा अनियमितता भएको भन्दै वडा नम्बर १२ कै युवा नागेन्द्र ठाकुर (सत्या)ले उपमेयर, वडाध्यक्ष, निर्माण कम्पनी र नगरपालिकाका इन्जिनियरका विरुद्धमा फिल्डमै गएर भिडियो बनाएका थिए । नागेन्द्रले उपमेयरले अनुगमन गर्दा कमसल इट्टा प्रयोग भएको पाउँदा पनि काम नरोकेको, वडाअध्यक्ष कुशेश्वर सिंह, निर्माण कम्पनीका संचालक र नगरपालिकाका इन्जियरको मिलेमत्तोमा दुई नम्बरी इट्टा प्रयोग भएको भन्दै भिडियो बनाएर सामाजिक संजालमा पोस्ट गरेका थिए । उक्त भिडियो भाइरल भएपछि भ्रष्टाचारका नाइके इन्जिनियर अजय यादवले गुण्डा प्रयोग गर्दै भिडियो बनाउने ठाकुरलाई कुटपिट गर्न लगाएका छन् ।
साथै, इन्जिनियर यादवले उल्टै आफूविरुद्ध आक्रमण गरेको भन्दै इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी प्रमुखलाई प्रभावमा पारी पक्राउ गर्न लगाएका थिए । ‘इन्जिनियर यादवले प्रहरी, कर्मचारी, जनप्रतिनिधि, नेता सबैलाई मिलाएका छन् । उनका विरुद्धमा कसैले पनि बोल्ने आँट गर्दैनन् । तर नागेन्द्रले आँट गर्यो ।’, स्थानीय एक युवाले भने, ‘पढेलेखेको युवा हो । गलत भएको देखि सहदैन, आँटिलो छ । गाउँमा गलत भएको थाहा पाउने वित्तिकै प्रतिकार गर्छ । कसैसँग डराउँदैन । त्यही भएर इन्जिनियर यादवले गुण्डा लगाएर ठिक पार्न खोज्यो, त्यो पनि नसकेपछि अहिले आएर प्रहरीमा उजुरी दिएको छ । गलाउन खोजेको छ । तर नागेन्द्र गल्दैन ।’
इलाका प्रहरी प्रमुख प्रहरी निरिक्षक शुर्यबहादुर राणाले भने उजुरी आएपछि आफूले पक्राउ गरेको बताए । ‘हामी कार्यालयमा अभद्र व्यवहारको उजुरी लिएर इन्जिनियर साप आउनु भयो । हामीले मुद्धा दर्ता गरेर प्रक्रियामा लिएका हौँ । म्याद थप गरेर हामीले अनुसन्धान गरिरहेका छौं । अहिले यो मुद्धा प्रक्रियामा छ’, उनले भने । प्रमाण विनानै उजुरी दर्ता गर्नुभयो रे नि त ? भन्ने प्रश्नमा उनले केही पनि जवाफ दिन चाहेनन् । अक्मकिदै उनले भने, ‘…हाम्रोमा उजुरी आएको हो । प्रमाण नभएर त कसरी उजुरी दर्ता हुन्छ । तर पनि म अनुसन्धानमै छु । बुझेर खवर गरौंला। ‘

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु