‘राज्य आर्थिक दृष्टिकोण निर्माणको सम्बन्धमा अल्मलिएको छ’

२०८१ असार २ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले राज्य आर्थिक दृष्टिकोण निर्माणको सम्बन्धमा अल्मलिएको ठोकुवा गरेका छन्। शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
उक्त अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले भने – ‘अर्थतन्त्रको कुरा गर्नेबित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा आउछ । एउटा, राज्यको कुरा हो । अर्को , संस्था र नागरिकको कुरा हो । हामी राज्य अल्मलिएको देख्छौं । राज्यले गरिराखेको छ। तर अल्मलिएको देख्छौं । बजेट आयो , बजेटको बारेमा यति धेरै विवादास्पद कुराहरु छन् । त्यहाँ राम्रा कुरा पनि छन्।
तर सरकारमै बसिरहेका पार्टीहरु, उनकै नेताहरु, नेताहरु पनि कस्तो भन्नुहुन्छ भने निर्णायक प्रभाव पार्ने खालका नेताहरुले आलोचना गरिरहेका छन् ,आलोचना पनि निराशापूर्ण छ ,अल्मलिएको छ ।’
महासचिव विप्लव सीले कम्युनिस्ट पार्टीहरूको उदय श्रमिककै बलमा आएको भए पनि नेतृत्व तहमा पुगेका नेताहरूले श्रम गर्न छोडेको बताउदै भने- ‘कम्युनिस्ट पार्टीको उदय अथवा समाजवाद श्रमिककै बलमा आयो । तर मालिक भएपछि नेतृत्वले श्रमिक बन्न छोडेको देख्यौँ । मालिक मात्र बन्ने चेतनाले शोषण मात्रै गर्‍यो । कम्युनिस्ट पार्टीमा नेता बन्दै गएपछि श्रम नगर्ने देखिँदै आएको छ । मास्टर डिग्री गरेको छ तर, १० हजार रुपैयाँका लागि चन्दा माग्दै धाउने गरेका छन् । यो एउटा परम्परा बन्दै गएको देखिएको छ ।’
महासचिव विप्लव सीले कम्युनिस्ट नेताहरूमा आफ्नो क्षमता प्रदर्शन गरेर अर्थ निर्माणमा ध्यान नदिने प्रवृत्ति हाबी हुँदै गएको बताउदै कम्युनिस्ट पार्टीलाई श्रमिकहरूको पार्टीमा बदल्नुपर्छ भनेर अभियान चलाएर नेकपा अघि बढेको बताए । उनले भने- ‘कम्युनिस्ट पार्टीलाई श्रमिकहरूको पार्टी बनाउनुपर्दछ । जसले जे जति योग्यता हासिल गरेको भए पनि आ–आफ्नो ठाउँमा श्रम गर्नु आवश्यक छ । श्रम नगर्ने हो भने त्यसले परनिर्भरता ल्याउँदो रैछ भन्ने अनुभूति भएको छ । विज्ञ भए पनि आफ्नो क्षेत्रमा गरे पनि सबैले श्रम गर्ने कुरा संगठनमा लागू गर्नुपर्दछ ।’
महासचिव विप्लव सीले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अलमलिएकोउल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटको सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आलोचना गरिरहेकाले नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गर्दै भने- ‘अर्थतन्त्रको कुरा गर्ने बित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा गर्ने बित्तिकै दुईवटा कुरा हो । एउटा, राज्यको कुरा हो । एउटा, संस्था र नागरिकको कुरा हो । राज्य अलमलिएको देख्छौँ हामी अहिले । राज्यले गरिराखेको छ तर राज्य अलमलिएको देख्छौँ हामी । बजेट आयो । बजेटको बारेमा यति धेरै विवादास्पद कुराहरू छन् अहिले । राम्रा पनि छन् त्यहाँ । तर सरकारमै बसिरहेका पार्टीहरू, उनकै नेताहरू, नेताहरू पनि कस्तो भन्नुहुन्छ भने निर्णायक प्रभाव पार्ने खालका नेताहरूले आलोचना गरिरहेका छन् । आलोचना पनि निराशापूर्ण छ । अलमलिएको छ । हरेक वर्ष तपाई, हामीले कस्तो सुन्नुपर्ने परिस्थिति छ भने आशा भन्दा पनि आलोचना र निराशा यस्तो बढी प्रवाह छ, नेपालमा । बजेट माथि यति ठुलो आक्रमण छ कि अहिले । बजेटले केही पनि गर्दैन भन्दाभन्दै बेकारको, वाहियात, हावादारी भन्नेसम्म गइसक्यो । सरकारमै बसेका नेताहरू, मन्त्री भएकै मान्छेहरूले यो बजेट काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा ? सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको देखिँदैन ।अहिलेको तर्कहरू हेर्दा धेरै ठुलो विचलन हुने देखिन्छ । सरकारमै बसेका मान्छेहरूको कुरा सुन्दा यतै अलमलिने वा केही समयपछि यो सरकार पनि भताभुङ्ग हुन्छ कि भनेको जस्तो देखिन्छ । हामीले भनेको के हो भने राज्य कम्तीमा पनि एउटा आत्मनिर्भर अर्थतन्त्रको दिशामा गइदिए नेपालका सबै विज्ञहरूलाई, पार्टीहरूलाई पनि आर्थिक विषयमा केन्द्रित गरेर छलफल गर्दिए हामी पनि भाग लिन चाहन्थ्यौँ ।’
यसैगरी, महासचिव विप्लव सीले पुँजीको श्रोत अतिरिक्त मुल्यमात्र नभएको बताए । उनले विगतमा पुँजीको श्रोतका रुपमा अतिरिक्त मुल्यलाई लिएको भएपनि यसमा शिक्षा, अनुसन्धान, प्रविधि लगायतका विषयहरु थप्नुपर्ने बताए । पार्टीको उत्पादनको नीतिले गर्दा देशभर एकखालको लहर आएको बताउँदै कुनै पनि पार्टी अतिरिक्त मुल्यको रटानमा बस्न नहुनेमा जोड दिए ।
महासचिव विप्लव सीले पार्टीले उत्पादनका कामहरु श्रम सहकारीमार्फत गरिरहेको जानकारी दिदै सहकारीलाई कुनै पनि हालतमा घाटामा जान नदिने बताउदै भने- ‘मलाई धेरै साथीहरुले तपाईं सहकारीमा नजोडिनुहोस् भनेर सुझाव दिनुभएको छ । अहिले भइरहेको सहकारीको बदनामीका कारण पनि उहाँहरुले सुझाव दिनुभएको होला । पार्टीको नेतृत्वमा विचलन आउँछ किन भन्ने धेरैमा चिन्ता देखियो । अहिले म सहकारीको संरक्षक छु । उहाँहरुको सुझाव ठिकै हो । तर हामी अहिले बदनाम भएका सहकारी जस्तो हुँदैनौं । अहिलेका सहकारीले सहकारीले गर्ने काम नगरेर बदनाम भएका हुन् । हामीलाई त्यो छुट छैन । हामी सहकारीको माध्यमबाट हाम्रो उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न खोजेका छौं । हामी यसमा सफल हुन्छौं ।’
महासचिव विप्लव सीले आफ्नो पार्टीको कृषिमा उत्पादन गरेर आत्मनिर्भर नेता कार्यकर्ता, आत्मनिभर पार्टी, आत्मनिर्भर देश बनाउने नीति रहेको बताउँदै कसैको पनि जमिन कब्जा गर्ने नीति नभएको बताए । उनले भने- ‘हाम्रो पार्टीले अहिले कसैको जमिन कब्जा गर्ने नीति लिएको छैन । तपाईंको जमिन बाँजो छ भने हामीलाई दिनुहोस् । हामी तपाईंलाई उत्पादन गरेर नाफाको केही प्रतिशत दिन्छौं । तर केही जमिन कब्जा गर्दिन्छन् की भनेर डराएको देखियो । त्यो होइन् । हामीले आर्थिक नीतिमा एकीकृत स्वामित्व भनेका छौं । अहिले कसैको जमिन कब्जा गर्दैनौं । तर तपाईंको खाली रहेको जमिनमा पार्टीले उत्पादन गर्छ दिनुहोस् भनेका छौं ।’
महासचिव विप्लव सीले आफ्नो पार्टीले निजी प्रशन्नतासहित सामूहिक स्वामित्वको वैज्ञानिक अर्थप्रणाली प्रयोगमा ल्याएको बताउँदै उद्योगी व्यवसायीलाई पनि सहकार्यमा आउन अपिल गर्दै भने- ‘कम्युनिस्ट पार्टीलाई श्रमिकको पार्टीका रुपमा रुपान्तरण गर्नुपर्छ । हामीले यो गरेका छौं । हाम्रा नेता कार्यकर्तालाई उत्पादक शक्तिमा रुपान्तरण गरेका छौं । यसले नेतादेखि कार्यकर्तासम्मलाई अनिवार्य श्रममा जोडिन बल पुगेको छ । बैद्धिक, कर्मचारी, अरु केही पेसा वा क्षेत्रमा क्षमतावान भएपनि हामीले श्रम गर्नुपर्ने अनिवार्य नियम बनाएका छौं । तपाईंहरु पनि सहकार्यमा आउनुहोस् । हामी सहकारीलाई डुब्न दिदैनौं ।’
महासचिव विप्लव सीले उपस्थित बुद्धिजिवीलाई विश्वस्त पार्दै नेकपा सिधै बन्दुक बोकेर जंगल नजाने बताउदै भने- ‘हामीलाई अहिले पनि सरकार र बुद्धिजीवि वर्गले फेरी यीनीहरु के हो, के हो ? भनेर शंका गरेको पाएका छौं । हामी नेपालको अस्मिताको रक्षा गर्नुपर्यो भने तपाईंहरुलाई सोधेर, अनुमति लिएर, छलफल गरेर जाउँला । तर अहिले यस्तो केही सोचेका छैनौं । चुनावमा जाने नीति पारित गरेपछि त केहीमा यो शंका मेटिएको पाएका छौं । तर केहिमा अझैं चिन्ता छ । हामी देशलाई आत्मनिर्भएर बनाएर जततालाई स्वाधिन र सुखी बनाउने बाहेक केही सोचेका छैनौं ।’
महासचिव विप्लव सीले उपस्थित बुद्धिजिविलाई एक पटक विभिन्न माध्ययमबाट साथ दिन अनुरोध गर्दै भने- ‘हामीलाई साथ दिनुहोस् । हामीमा कहिल्यौ पनि विचलन आउने छैन । विचलन आउने बेलामा त हामी विचलित भएनौं । कसैको प्रभावमा परेनौं । अहिले त हामीले धेरै अगाडि बढिसकेका छौं । यसलाई तपाईंले साथ दिनुभयो हामी सफल हुन्छौं । देशलाई नै सफल बनाउँछौं ।’
एक फरक प्रसंगमा महासचिव विप्लव सीले नेपालको संसद अपराध गर्ने अखडा जस्तो बनेको बताउदै भने -‘अहिले संसदमा जनताले तिरेको कर कसले धेरै लुटेर खाने भनेर संसदमा छलफल भइरहेको छ । तेरोमा यति पर्यो मेरो परेन, यस्तो छ । ‘यो संसद अपराधिहरुको अखडा भयो । एउटाले अर्काको पोल खोलेको छ । एकदमै तल्लो स्तरमा मान्छेहरुले गरेको जस्तो बहस भएको छ । यसले जनतालाई केही पनि दिदैन ।’
उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, सुदुरश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति कर्णबहादुर थापा लगायत विभिन्न शैक्षिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले सहकारीमार्फत उत्पादित सामाग्रीको बजारिकरण, औधिगिकरण र प्रविधिको प्रयोगसम्बन्धी जिज्ञासा र सुझाव दिएका थिए ।
अखिल समाजवादीको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता जनश्रम सहकारीका अध्यक्ष सन्देश सीले गरेका थिए भने संचालन अखिल समाजवादीमा अध्यक्ष नरेन्द्र सीले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई सहकारीका प्रवन्धक सुशील सीले स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु