‘लगानीको डेढ गुणा प्रतिफल दिएका छौं’

२०८१ असार २ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उत्पादन विभाग प्रमुख सन्देश सीले जनश्रम सहकारी संस्थामा गरेको लगानी खेर नजाने बताएका छन् । शनिबार जनश्रम सहकारीले आयोजना गरेको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषय अन्तरसंवादमा अवधारण प्रस्तुत गर्दै उनले सहकारी कुनै पनि हालतमा नढुब्ने र यहाँ गरेको लगानी खेर नजाने बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको ८औं केन्द्रीय समितिको ७औं पूर्ण बैठकले उत्पादनको नीति लिएको बताउँदै उनले त्यही नीति अनुसार खुलेका ७१ वटा इकाईमध्ये धेरै सफल भएको बताए । ‘हामीले देशभर ७१ वटा इकाईहरुमार्फत उत्पादनको काम गरेका थियौं । त्यसमध्ये हाम्रो ७५ प्रतिशत इकाईहरु नाफामा गएका छन् ।’, उनले भने, ‘बाँकी १५ प्रतिशतमा हामी बराबरीमा गएको थियौं भने १० प्रतिशतमा घाटामा थियौं । घाटामा जानुमा मौसमदेखि विभिन्न कुराहरुले असर पारेको थियो ।’

उनले चितवनका चलेको मौरी फार्मले एक बर्षमा डेढ प्रतिशत नाफा दिएको बताए । ‘हामीले ५ हजार लगानी गरेका व्यक्तिलाई ७ हजार ५ सयसम्म नाफा दिएका छौं । हाम्रो सहकारीमा लगानी गरेपछि नाफाको ग्यारेन्टी हुन्छ ।’, उनले भने । उनले पार्टीको नाममा साढे दुई सय रोपनी जमिन रहेको बताउँदै यो बर्ष ३ सय रोपनीमा उत्पादन गर्ने योजना रहेको सुनाए । साथै, उनले अर्को बर्ष एक हजार रोपनीमा उत्पादन गरेर पार्टी पङ्तीलाई आत्मनिर्भर बनाउने र तेश्रो बर्षबाट १० हजार रोपनीमा उत्पादन गरेर खुल्ला बजारमा प्रतिश्पर्धा गर्ने योजना रहेको बताए ।

उनले सहकारीमा १ जना बराबर १ लाख रुपैयाँ मात्र लगानी गर्ने नीति बनाएको जानकारी दिए । ‘हामीले पार्टीको ५१ प्रतिशत र बाहिरबाट ४९ प्रतिशत लगानी गरेर जनश्रम सहकारी स्थापना गरेका छौं ।’, उनले भने, ‘सहकारी कसैको कब्जामा नजाहोस् भने हामीले १ जना बराबर १ लाखमात्र लगानी स्वीकार्ने नीति बनाएका छौं । संस्थागत लगानी गर्दा ५ लाखसम्म गर्न सकिन्छ ।’

उनले विप्लव देशको नेतृत्वमा आउँदा पनि नढल्ने अर्थतन्त्र बनाउन चाहेको बताउँदै ढुक्क भएर लगानी गर्न सबैलाई अपिल गरे । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, सुदुरश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति कर्णबहादुर थापा लगायत विभिन्न शैक्षिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले सहकारीमार्फत उत्पादित सामाग्रीको बजारिकरण, औधिगिकरण र प्रविधिको प्रयोगसम्बन्धी जिज्ञासा र सुझाव दिएका थिए ।

अखिल समाजवादीको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता जनश्रम सहकारीका अध्यक्ष सन्देश सीले गरेका थिए भने संचालन अखिल समाजवादीमा अध्यक्ष नरेन्द्र सीले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई सहकारीका प्रवन्धक सुशील सीले स्वागत गरेका थिए । कार्यक्रममा १२ लाख बराबरको लगानी जुटेको छ । -शोभराज बराल

प्रतिक्रियाहरु