‘बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्ने कार्यमा राज्य अल्मलिएको छ ‘

२०८१ असार ५ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्ने कार्यमा राज्य अल्मलिएको बताएका छन् । सोमबार बिपिन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘बेपत्ता नागरिकको सार्वजनिकरण र शान्ति प्रक्रिया बिषयक´ अन्तर्कृयालाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले नेपालको राज्य अझै जनताको राज्यमा रुपान्तरण हुन नसकेकोले जनयुद्धको क्रममा बेपत्ता पारिएका परिवारको पीडा र शान्ति सम्झौताको कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै जनयुद्धको क्रममा बेपत्ता पारिएका १हजार ९५ जना योद्धाहरुको स्थिति तत्काल सार्वजनिक गरिनुपर्ने बताए ।
महासचिव विप्लव सीले क्रान्ति अधुरो रहेकोले जनयुद्धको क्रममा राज्यले पीडित बनाएका मानिसहरूको पीडा सम्बोधन हुन नसकेको बताउदै भने- “जनताको हातमा सत्ता भएको भए बेपत्ता परिवार लगायत नागरिकका पीडा सम्बोधन हुन्थे तर नेपालको राज्य जनताको राज्यमा रुपान्तरण हुन नसक्दा आज जताततै पीडा र दु:ख मात्रै देखिन्छ। बेपत्ता लगायत द्वन्द्वपीडितका पीडा र समस्या सम्बोधन किन हुन सकेन भनेर एकले अर्काको आलोचना त गर्न सकिन्छ तर यो कुरालाई क्रान्तिमा आएको घुम्तीसङ्ग पनि जोडेर हेर्नुपर्छ, यो कसैलाई गाली गरेर हुने बिषय पनि होइन, यहाँ क्रान्तिको नियमले काम गरेको छ । हामीले क्रान्ति जितेको भए अहिले बेपत्ता, सहिद लगायत सबै वीरबीरङ्गनाको सपना पूरा भैसक्थ्यो ।”
महासचिव विप्लव सीले जनयुद्धको क्रममा लाखौंलाख जनता राज्यबाट पीडित रहेको, राज्यले कैयौंलाई घरबारबिहिन बनाएको र त्यसको सम्बोधन राज्यले इमानदारीतापूर्वक गर्नुपर्नेमा बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्ने काममा राज्य अलमलिएको बताए । उनले शान्ति प्रक्रिया, बेपत्ताहरुको स्थिति सार्वजनिकरण, पीडितलाई न्याय दिने कुरा प्रचण्डलगायत माओवादीका नेताहरूले चाहेर पनि गर्न सक्ने स्थिति नरहेको बरु उहाँहरु, एमसीसी पारित गरेर अमेरिकालाई फकाउने कोसिस गर्दैछ्न्; के अमेरिका फकिन्छ? भन्दै प्रश्न समेत गरे । उनले भने
“यसले त उहाँहरु एकातिर जनताबाट अलग्गिदै जानुहुन्छ भने अर्कोतिर सत्ताको घेराबन्दी र बाह्य शक्तिको चेपुवामा पनि पर्दै जानुहुन्छ । यो कुरालाई नबुझिकन बेपत्ता योद्धाको मुद्दा पूरा हुन संभव छैन ।”
महासचिव विप्लव सीले बेपत्ता योद्धाको स्थितिको सार्वजनिक नगरेर बेपत्ता परिवालाई न्याय नदिएको मात्रै होईन, बन्दुकको बलमा उनीहरुको आवाज समेत दबाइएको भन्दै माओवादी, बामपंथी र कम्युनिस्ट मिलेर चुनौतीको सामना गर्नुपर्ने र आफुहरुले आन्दोलनमा बगाएको रगत र पसिनाको बोध नगराएसम्म मैदानबाट नभाग्ने प्रतिबद्धता समेत जनाए ।
यसैगरी, महासचिव विप्लवले नेपालमा समाजवादको स्थापना विना न्याय पाउन सम्भव नहुने उल्लेख गर्दै समाजवादको दिशामा नेपाललाई लिन नसके भयावह परिस्थितिको सामाना गर्नु पर्ने चेतावनी दिए । उनले बेपत्ता योद्धाका परिवार,सहिद परिवार,घाइते तथा अपाङ्गहरु मात्र होईन सिंगो जनयुद्धमा साथ दिने नेपाली जनताको न्याय समाजवादले मात्र दिने ठोकुवा गर्दै भने- ‘यो राज्य व्यवस्था असफल भयो, राज्यले शक्तिको बलमा असफल व्यवस्था टिकाईरहेको छ, केन्द्रदेखि प्रदेशसम्म सरकार बदल्ले, जनताको तिरको राजस्व खाने काम भएको छ । राजस्व राज्यलाई तिरेको पनि बर्वादतिर जादैछ, यो असफल व्यवस्थालाई बन्दुकको बलमा टिकाईको छ, यसको विकल्प समाजवाद हो, समाजवाद विना न्याय खोज्नु असम्भव छ ।’
महासचिव विप्लवले माओवादीहरु एकताबद्ध भएर बेपत्ता, सहिद परिवार, घाइते अपाङ्ग लगायत सबैको समस्या समाधान गर्ने बाटोमा जानुपर्नेमा जोड दिदै भने- ‘हाम्रो बलिदान नेपालको भविष्यसंग जोडिएको छ, यो देशको नेतृत्व हामीले गर्नैपर्छ,निरास हुनुहुँदैन, देशको जिम्मा लिने सोच्नुपर्छ । जनताको हातमा सत्ता आएको छैन,गणतन्त्र जनताको हुन सकेन। जनताको व्यवस्था आउन जरुरी छ, जनयुद्धको बेला बनाइएका जनसत्ता, जनकम्युन, जनअदालत र जनमुक्ति सेनाको उचित र न्यायपूर्ण समायोजन भएन, कांग्रेसले मुक्ति सेना सबै प्रहरीमा समायोजन गर्यो तर माओवादीले जनमुक्ति सेना सबैलाई सम्मानजनक समायोजन गर्न सकेन । जसको परिणाम आज पुँजीवादले माओवादीलाई दबाइरहेको छ ।’
महासचिव विप्लवले पुँजीवादका विरुद्ध विजय नहुँदा माओवादीका एजेण्डाहरु पूरा नभएको बताउदै माओवादीहरुले आफूलाई करेन्सन गर्नु पर्नेमा जोड दिए । उनले हिंसा र युद्धको श्रोत पुँजीवादी सत्ता भएको औल्याउदै नेकपा युद्ध नभएर शान्ति चाहने शक्ति भएको प्रष्टयाउदै जनतालाई बन्दुकको बलमा शासन लाद्नु भन्दा नेपालमा समाजवाद कि संसदीय व्यवस्था भन्ने विषयमा जनमतसंग्र गरिनु पर्ने बताए ।
उनले भने- ‘नेपालमा जनमतसंग्रह गरेर व्यवस्थाको फैसाला गर्नु पर्छ,नेपालमा पाँच बर्षसम्म सत्ता चलाउन दिने अवस्था छैन, प्रचण्डलाई पाँच बर्षसम्म सरकार चलाउन दिएको भए केही परिवर्तन हुन सक्थ्यो होला, तर आज त्यो छैन, वजेटमा आफ्नै पार्टीका नेताहरुको विरोध छ, १२ खर्व बाडेर खाने बाहेक अरु केही देखिदैन ।’
महासचिव विप्लवले देशको अग्रगामी निकास समाजवादले हुने र सबैको समस्या समाधान समाजजादले गर्ने दावी गर्दै रोएर कराएर नभई संघर्ष गरिरहन आग्रह गरे ।


यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी) केन्द्रका नेता तथा संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले माओवादी बेला –बेला सरकारमा गएर पनि जनयुद्धका बेपत्ता योद्धाहरु सार्वजनिक गर्न नसेकोप्रति क्षमा याचना गरे । उनले जनयुद्धका सहिदहरुको नामहरु राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिद घोषणा गर्न सफल भएपनि बेपत्ता योद्धाहरु सार्वजनिक गर्न नसकिएको स्वीकार गरे । उनले माओवादीले मात्र एक्लै चाहेर पनि शान्ति प्रक्रियाका कामहरु गर्न नसकेको र टिआरसी विद्येयक अट्किएर बसेको जानकारी दिदै भने- ‘निरासा हुनु हुदैन,हामी लडिरहेका छौ, टिआरसी विद्येयक पास गरेर शान्ति प्रक्रियाका कामहरु पुरा गर्छौ,वेपत्ता योद्धाहरुको अवस्था पनि सार्वजनिक गर्छौ ।’

यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का नेता तथा संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले १८ बर्षसम्म शान्ति प्रक्रियाका कामहरु टुङग्याउन नसक्नुमा सबै दोषी भएको स्वीकार गरेका छन् । नेता बर्तौलाले यत्तिका बर्षसम्म शान्ति प्रक्रियाका कामहरु टुङग्याउन नसक्नुमा सबै दोषी भएको स्वीकार गर्दै भने -‘शान्ति सम्झौता भएको दिनदेखि ६० दिन भित्र बेपत्ताहरुको अवस्था सार्वजनिक गर्ने भनिएको थियो, त्यो भएन,विद्रोहको नेतृत्व गरेको पार्टी र एमाले पटक –पटक सत्तामा गएका छन,विषय गम्भीर थियो, यो समाधान गर्न सकेनौ,यसमा हामी सबै दोषी छौँ ।’
उनले अब टिआरसी विधेयकलाई छिटो भन्दा छिटो संसदवाट पास गरेर शान्ति प्रक्रियाका वाँकीकामहरु सक्नुपर्ने बताए । उनले पीडितलाई न्याय दिने गरी टिआरसी विधेयक पारित गरिनु पर्ने विचार व्यक्त गरे । नेता बर्तौलाले टिआरसी विधेयकलाई सत्ता उलटपलटको विषय बनाउन नहुने बताए ।

यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता प्रकाश ज्वालाले शान्ति प्रक्रियाका बाँकी कामहरु पुरा गर्न बनेको विचाराधिन टिआरसी विधेयक सत्ताको भर्याङ्ग बनाउन नहुने बताए । उनले टिआरसी विधेयकलाई सत्ताको भर्याङ्ग बनाउन नहुने बताउदै भने – ‘सत्तामा हुदा विधेयक पारित गर्छौ, गर्नु पर्छ भन्ने तर सत्ता बाहिर आउदा पारित गर्नमा असहयोग गर्ने काम भयो । यो सत्ताको भर्याङ्ग बनाउन हुँदैन ।’
उनले जनयुद्धको बेला बेपत्ता भएका सबै योद्धाहरुको यथाशिघ्र सार्वजनिक गर्न माग गरे । शान्ति सम्झौतामा हस्ताक्षर गरेको ६० दिन भित्र बेपत्ता योद्धाहरुको सार्वजनिक गर्ने सहमति भएपनि शान्ति सम्झौता भएको १८ बर्ष सम्म पूरा नहुनु दुखत भएको बताए ।
उनले बेपत्ताहरुको स्थिति सार्वजनिक गर्न परिवारजनहरुले आन्दोलन गर्नु पर्ने पनि बताए । बेपत्ता योद्धा विपिन भण्डारीसंग काठमाडौं बस्दा संगै बसेको स्मरण गर्दै विपिन निकै राष्ट्रप्रति माया र सम्भावना भएको व्यक्ति भएको बताए ।


यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक समाजका अगुवा सुन्दरमणी दिक्षितले अहिले बेपत्ता योद्धा बेपत्ता नभएर माओवादीका नेता र सिद्धान्त बेपत्ता भएको बताए । दिक्षितले प्रधानमन्त्री प्रचण्ड भएका बेला किन बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न नसेको हो ? भन्ने प्रश्न गर्दै भने -‘आज माओवादीका नेता र उनको सिद्धान्त बेपत्ता भएको छ, जनयुद्धको सिद्धान्त बेपत्ता भएको हो, सरकारमा गएका माओवादीका नेता र सिद्धान्त बेपत्ता भएका हुन् । बेपत्ता योद्धाहरु जनताको हृदयमा वसेका छन् ,उनीहरु हराएका छैनन्, बरु माओवादी नेताहरुले धोका दिए,सिद्धान्त बेपत्ता पारे, राष्ट्रघात गरे, जनयुद्धको बेपत्ता प्रचण्डलाई खोज्नु पर्यो, १ करोड दिन्छौ भनेर लेख्नु पर्यो ।’
दिक्षितले माओवादी नेताहरुको गल्तीले बेपत्ता योद्धा,सहिद परिवार तथा घाईतेहरुको सम्मान हुन नसकेको बताए । उनले विप्लवलाई केही आसावादी नेताको रुपमा बुझेको भएपनि समाजवादी मोर्चामा गएर आशंका जन्माएको टिप्पणी गरे । उनले बेपत्ता योद्धाको बारे गरिने कार्यक्रमहरु कर्मकाण्डी नगर्न पनि आग्रह गरे । उनले जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएको बेला बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै भने – ‘अव विद्रोह गर्नु पर्छ, हिक्मत गर्नु पर्छ, पद र पैसामा डुब्ने होईन ।’
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै बेपत्ता योद्धा विपिन भण्डारीका बुवा तथा बेपत्ता परिवार समाज नेपालका अध्यक्ष एकराज भण्डारीले राज्यको व्यवहारप्रति खरो आलोचना गर्दै आफ्ना सन्तानहरुको बारे सार्वजनिक गर्न गरे । उनले हरेक नागरिकहरुको आफ्ना सन्तानकाबारे खोजि गर्नु नैसर्गिक अधिकार भएको भन्दै शान्ति प्रक्रिया सुरु भएको १८ बर्षसम्म पनि बेपत्ता योद्धाहरु किन सार्वजनिक गर्न नसकेको भन्दै सरकारलाई प्रश्न गरे । उनले भने – ‘सत्य निरुपण तथा मेलमिलाप आयोग कहाँ पुग्यो ? बेपत्ता योद्धाको छानविन आयोग कहाँ पुग्यो ? टिआरसी विधेयक कहाँ पुग्यो ? किन आज सम्म सरकारले बेपत्ता पारिएका योद्धाहरु सार्वजनिक गर्न चाहेन ? अब यथाशिघ्र सार्वजनिक गरिहोस ।’
उक्त कार्यक्रममा बेपत्ता योद्धा दण्डपाणी न्यौपानेकी छोरी निशा न्यौपानेले जनयुद्धमा बगेको रगत,बेपत्ता योद्धाको योगदान,घाईतेहरुको योगदान जनताको त्याग तपस्याले अहिलको व्यवस्था आएको भन्दै बेपत्ता नागरिक तुरुन्त सार्वजनिक गर्न माग गरिन ।
यसैगरी, एउटै घरबाट एकजना सहिद र २ जना बेपत्ता पारिएका योद्धाको आफन्त इन्द्रकेसरी श्रेष्ठले कार्यक्रममा भावकु हुदै आफना सन्तानको सार्वजनिक गर्न जोडदार माग गरिन । उनले भनिन् – ‘अरु कुरा म जान्दैन,हाम्रा सन्तानहरु कहाँ छन ? सार्वजनिक गरिहोस । म मर्ने उमेरको भईसके मेरा सन्तानहरुको बारेमा जानकारी पाएर मर्छु । ए सरकार ! मेरा सन्तानहरु सार्वजनिक गर !’


कार्यक्रममा सहिद तथा बेपत्ता सन्तति योद्धा फाउण्डेशन नेपालका तर्फबाट किरण पोखरेलले २०७२ को संविधानले सहिद तथा बेपत्ता योद्धाहरुको भावनालाई बोकेपनि नेताहरुले बोक्न नसकेको बताए । शान्ति सम्झौता भएको ६० दिन भित्र बेपत्ता योद्धाहरुको वारे सार्वजनिक गर्ने भनिएपनि अहिलेसम्म सार्वजनिक गर्न नसक्नु दुख भएको बताए । पोखरेलले बेपत्ता योद्धाको अवस्थाबारे सरकारले यथाशिघ्र सार्वजनिक गर्न माग गरे । उनले जसलाई घाउ नै छैन, उसलाई मलपट्टी लगाएको जस्तो नेपालमा भईरहेको भन्दै आज बेपत्ता योद्धाहरु त्यसकै चपेटामा परेको बताए ।उनले आयोग तथा विधेयकहरु सत्ताको दाउपेज नबनाउन आग्रह गर्दै शान्ति प्रक्रियाका वाँकीकामहरु छिटो भन्दा छिटो सक्न र बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न माग गरे ।
२०५९ साल असार ३ गतेकै दिन तत्कालिन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विपिन भण्डारी, केन्द्रीय सदस्य दिलवहादुर राईलाई राज्यले पक्राउ गरी बेपत्ता बनाएको थियो । त्यस्तै असार ३ गतेकै दिन रामहरी रुपाखेति,देवराज पौडेल र कृष्ण बहादुर वस्नेतलाई पनि राज्यले पक्राउ गरि बेपत्ता बनाउको थियो । सोही दिनको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो ।
बेपत्ता योद्धा विपिन भण्डारीकी आमा सान्ता भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन आस्था सीले गरेकी थिइन् ।

प्रतिक्रियाहरु