मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब रुपैयाँ अनुदान

२०८१ असार ६ गते, बुधबार


काठमाडौँ । खानेपानी मन्त्रालयले एसियाली विकास बैंक (एडिबी) ले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब रुपैयाँ अनुदान दिएको जनाएको छ । मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एडिबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) बराबर अनुदान दिएको वताए ।
२०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले तल्लो तटीय क्षेत्रमा क्षति पुर्‍याउनुका साथै मेलम्ची खानेपानीको हेडवर्क्स नै पुरेको थियो । अहिले सरकारले त्यो हेडवर्क्स नयाँ ठाउँमा सार्ने तयारी गरेको छ ।
सरकारले अम्बाथानबाट एक किलोमिटर माथि सर्कथलीमा बाँध सार्ने तयारी गरिरहँदा एडिबीले जलवायु परिवर्तनको असरसँग सम्बन्धित शीर्षकमा उक्त अनुदान रकम उपलब्ध गराउन लागेको हो । यसका अतिरिक्त एडिबीले नयाँ हेडवर्क्स, सुन्दरीजलमा ट्रिटमेन्ट प्लान्ट बनाउन ऋण सहायता उपलब्ध गराउने भएको छ ।
अनुदान दिएको रकम पनि बाँध बनाउनै खर्च हुने सचिव आचार्यले जानकारी दिए । नयाँ ठाउँमा बाँध सार्न करिब ४ अर्ब खर्च हुने खानेपानी मन्त्रालयको अनुमान छ ।
‘एडिबीले आफूले लगानी गरेको छ । आफैले अध्ययन गराएको छ । उसको यति धेरै लगानी भइसक्यो । उसले पनि त आफ्नो लगानी त्यतिकै खेर फाल्छ चाहँदैन । उसले गराएको अध्ययनमा माथि रकबेल्ट छ। त्यसमा रड खोपेर एंगल मिलाएर पानी पठाउने भनेको छ । साथै एडिबीले अहिले हामीलाई २ अर्ब भन्दा बढी ग्राण्ड दिएको छ । हाम्रो ड्यामेज ९० करोडको हो । उसले तपाईंहरूको ड्यामेज भयो हामी २ अर्ब दिन्छौँ भन्यो । हामीले त्यो सुविधा लिने कि नलिने ? हाम्रो खर्च ४ अर्ब होला आधा त कभर गरिदियो नि । बाँकी २ अर्ब त हामी १र२ वर्षमा उठाइदिहाल्छौँ नि१ काठमाडौंमा पानी जान थालेपछि त,’ उनले भने ।
दुई वर्षअघि नै एडिबीले हेडवर्क्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो ।
सरकारले सहमति जनाएसँगै आयोजनाले बाँध क्षेत्र सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु