‘उत्पीडित वर्ग र समुदायले दोब्बर मेहनत गर्नुपर्छ’

२०८१ असार ९ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले उत्पीडित वर्ग र समुदायले राजनीतिमा दोब्बर मेहनत गर्नुपर्ने बताएका छन् । शुक्रबार श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समितिको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्ड सीले उत्पीडित समुदायका अग्रजहरु राजनीति र सत्तामा नभएका कारण मुक्ति र सत्ता प्राप्तिका लागि थप मेहनत गर्नुपर्ने बताउदै क्रान्ति भनेको सम्भावना र चुनौतीको संयोजन भएको हुँदा सशक्तरुपमा उत्साही भएर अगाडि बढ्न सबैलाई आग्रह गरे ।


उनले क्रान्तिका लागि पार्टी संगठनलाई सुदृढ र बिस्तार गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरि सांगठनिक काम गर्न सबैलाई निर्देशन समेत दिए ।
प्रवक्ता प्रकाण्ड सीले आवश्यकतामा ध्रुवीकरण, एकता र मोर्चाबन्दी/सहकार्यलाई अगाडि बढाउनुपर्ने बताउदै बैठकका सहभागीलाई सोही अनुसार अगाडि बढ्न निर्देशनसमेत दिए ।


उक्त बैठकका अतिथि तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले कम्युनिस्ट पार्टीका सदस्य दिनरात नभनी क्रान्तिका लागि जागरुक भएर लाग्नु पर्ने बताए । उनले क्रान्तिको उत्कर्षको निकट रहेको समय भएकोले यतिबेला सबैले द्विविधामा नपरी काम गर्नुपर्ने बताए ।
अध्यक्ष रामलाल सीले उत्पादन, संगठन र संघर्षलाई एकसाथ अगाडि बढाउन सकेमात्रै मुक्ति आन्दोलन सशक्त बनाउन सम्भव हुने बताए । त्यसैगरी, उक्त बैठकमा श्रमिक समुदाय मोर्चा, नेपालका कार्यालय सदस्य तथा नेकपा प्रतिनिधि सदस्य गोपाल सी.ले समेत आफ्नो धारणा राखेका थिए ।


प्रदेश इन्चार्ज पदम सी.को अध्यक्षतामा सम्पन्न उक्त बैठकले विभिन्न निर्णय गरेको बताइएको छ । बैठकले उत्पादन र व्यवसायका निम्ति कार्यविभाजन ठोस गर्नुका साथै सूचना, संचार तथा प्रकाशन सम्बन्धि कामलाई थप व्यवस्थित गर्ने निर्णय गरिएको बताइएको छ । साथै उक्त वैठकले ललितपुरलगायत विभिन्न जिल्लामा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा भइरहेका छुवाछूत र विभेद विरुद्ध उपयुक्त संघर्ष गर्ने लगायत निर्णय गरेको बताइएको छ ।

प्रतिक्रियाहरु