मक्काको तापक्रम ५१.८ डिग्री सेल्सियस : १३ सय हज यात्रीको मृत्यू

२०८१ असार ११ गते, सोमबार

काठमाडौँ । हजयात्राका क्रममा मृत्यु हुनेको संख्या १३ सय नाघेको छ। भीषण गर्मी र लामो दूरीको पैदल यात्राका कारण हजयात्रीको मृत्यु भएको साउदी अरब सरकारले पुष्टि गरेको छ। ज्यान गुमाउनेमध्ये धेरैजसो अनधिकृत हजयात्री छन्। साउदी अरबको समाचार एजेन्सी एसपीएका अनुसार मृत्यु हुनेमध्ये तीन चौथाईभन्दा बढी व्यक्तिलाई मक्का जाने अनुमति थिएन, जो चर्को गर्मीमा लामो पैदल यात्रा गरिरहेका थिए।
साउदी अरबको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मक्काको तापक्रम ५१.८ डिग्री सेल्सियस पुगेको छ। ज्यान गुमाउनेमध्ये केही वृद्ध र गम्भीर बिरामीसमेत थिए। स्वास्थ्यमन्त्री फहद अल जलाजेलका अनुसार यसपटक झण्डै ५ लाख हजयात्रीलाई उपचार सेवा प्रदान गरिएको छ। उपचार पाउनेमध्ये पनि एक लाख ४० हजारभन्दा बढी अवैध हजयात्री छन्। प्रवेश अनुमति नलिई आएका हजयात्रीमाथि साउदी अरबले विभेद गरेको भन्दै आलोचना हुँदै आएको छ।
उनीहरुलाई वातानुकुलित बसोबासको प्रबन्ध नगरिएको र यातायात सुविधाबाट समेत वञ्चित गरिएको आरोप लाग्ने गरेको बीबीसीले जनाएको छ। समाचार एजेन्सी एएफपीका अनुसार ज्यान गुमाउनेमा ६५८ जना इजिप्टका छन्। इण्डोनेसियाका २०० भन्दा बढी छन् । भारतका ९८ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै इरान, पाकिस्तान, मलेसिया, इराक, जोर्डन, सेनेगलर सुडानका हजयात्रीको मृत्यु भएको पुष्टि भएको छ। -एजेन्सी

प्रतिक्रियाहरु