अखिल समाजवादीद्वारा त्रिविका परीक्षा नियन्त्रकलाई कार्यालय प्रवेशमा रोक

२०८१ असार ११ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकलगायतका पदाधिकारीलाई सोमबारदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ । परिक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको घटनामा प्रत्यक्ष संलग्न ७ जनालाई कारवाहीको माग सहित कार्यालय प्रवेशमा रोक लगाईएको समाजवादीका अध्यक्ष नरेन्द्र सीले बताए ।
स्नातक तहका ५ सयभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका कार्यालयबाटै हराएको विषयमा छानबिन गर्न त्रिवि कार्यकारी परिषद्ले पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।
समितिले परीक्षा नियन्त्रक जोशी, सहनियन्त्रक सुरेशजंग शाही र पवन बराललाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । छानबिन समिति स्रोतका अनुसार उनीहरू ३ जनालाई पदबाट हटाउनसमेत सुझाव दिइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुख, सहप्रशासक भोजराज भट्ट र गोप्य शाखाका कर्मचारी उपप्रशासक निलम पोखरेललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको थियो‌। उनीहरूले पदीय जिम्मेवारीअनुसार कर्तव्य पूरा नगरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट हटाउन प्रतिवेदनमा भनिएको छ ।


उत्तरपुस्तिका हराएको घटनामा बदमासी गरेको भन्दै गोप्य शाखाका शाखा अधिकृत शम्भु दाहाल र नायब सुब्बा दीपक पाण्डेलाई पनि कारबाही सिफारिस गरिएको छ । उनीहरूको लापरबाहीका कारण नतिजा प्रकाशन गर्न बाँकी उत्तरपुस्तिका नतिजा प्रकाशन भइसकेका उत्तरपुस्तिकासँगै नष्ट गर्न पठाइएको छानबिन समितिले औंल्याएको छ ।

प्रतिक्रियाहरु