नेपाल–चीन परराष्ट्र सचिवस्तरीय बैठक बस्दै

२०८१ असार १२ गते, मंगलवार

काठमाडौँ । आज नेपाल–चीन परराष्ट्र सचिवस्तरीय बैठक बस्दैछ । दुई देशको सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक हुने भएको हो । बैठकमा आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीचका सम्झौताबारेमा छलफल हुनेछ । बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्नु हुनेछ भने चिनियाँ पक्षबाट विदेश मन्त्रालयका उपविदेशमन्त्री सुन वेइतोङले नेतृत्व गर्नुहुनेछ  । छलफलका लागि चिनियाँ उपविदेशमन्त्री वेइतोङ सोमबार नेपाल आइसक्नु भएको छ । बैठकमा नेपाली पक्षबाट बैठकका एजेन्डाका विषयमा छलफल हुनेछ भने चिनियाँ पक्षबाट सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल हुनेछ । व्यापारका विषयमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे छलफल हुनेछ ।
यस्तै सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । उपविदेशमन्त्री सुन भोली स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु