निःशुल्क स्वास्थ्य सेवाको सुचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न निर्देशन

२०८१ असार १५ गते, शुक्रबार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै निःशुल्क स्वास्थ्य सेवाको सुचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संस्थाले आफ्नो मुख्य प्रवेशद्वार, टिकट काउन्टर, रेडियो इमेजिङ विभाग, प्रयोगशाला विभाग, ओपिडी कक्ष र अन्तरङ्ग विभाग अगाडि ठूला अक्षरमा निःशुल्क सेवाको स्पष्ट जानकारी देखिने गरी सूचना टास्नुपर्ने उल्लेख गरिएको छ ।
सरकारले स्वास्थ्य संस्थाहरुलाई १० प्रतिशत शय्यामा निःशुल्क छ्ट्याउनु पर्ने व्यवस्था गरेको छ । डा. बुढाथोकीका अनुसार निःशुल्क उपचार गरिएका बिरामीको विवरण स्वास्थ्य संस्थाको वेबसाइटमा अद्यावधिक गर्नुहुन, सेवाग्राहीको फोटो सहितको प्रगति प्रतिवेदन हरेक हप्ता मन्त्रालयमा पेस गर्न मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
यसले निःशुल्क स्वास्थ्य सेवाको पारदर्शिता र प्रभावकारिता बढ्नुका साथै गरिब तथा विपन्न नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रप्त गर्न सहजीकरण गर्ने तथा नेपालको स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण सुधार ल्याउने अपेक्षा मन्त्रालयले गरेको छ ।
निर्देशन पालन नगर्ने स्वास्थ्य संस्थालाई कानुनको दायरामा ल्याई कारबाही गर्नुका साथै सेवा सम्झौदा रद्द तथा इजाजत अनुमति र नवीकरण रद्द सम्मको कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु