दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्कियो !

२०८१ असार १५ गते, शुक्रबार


काठमाडौँ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छाना शुक्रबार बिहानै परेको भीषण वर्षाका कारण खसेको छ । टर्मिनल भवनको छत भत्कँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन्। यो छाना सवारीसाधन र ट्याक्सीमा खसेको थियो जसमा केही मानिस पुरिएका थिए ।
घटनाको बारेमा दिल्ली फायर डिपार्टमेन्टलाई जानकारी दिइएको थियो र फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए। भवनको छाना बाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका छन् ।
नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भनेअनुसार उनी व्यक्तिगत रूपमा स्थितिको अनुगमन गरिरहेका छन् र घाइतेहरूलाई अस्पताल पठाइएको छ। दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भने, “बिहानैदेखि परेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विंगको क्यानोपीको केही भाग बिहान ५ बजे भत्किएको थियो। केही घाइते भएको रिपोर्ट गरिएको छ, र सबै घाइतेहरूलाई आकस्मिक उपचारका लागि पठाइएको छ। आवश्यक सहयोग र चिकित्सा सेवाहरू उपलब्ध गराइँदैछ।”
“यस घटनाका कारण, टर्मिनल १ बाट सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र सुरक्षा कारणहरूका लागि चेक इन काउन्टरहरू बन्द गरिएको छ।”
दिल्लीमा भारी वर्षापछि दिल्ली-एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने मौसम विभागले जनाएको छ।

प्रतिक्रियाहरु