नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ

२०८१ असार १६ गते, शनिबार


काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्। उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो। भुटानी शरणार्थी प्रकरणका एक अभियुक्त प्रतीक लामो समयदेखि फरार थिए। उनलाई अहिले जिल्ला प्रहरी परिसर टेकु लगिएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोगपत्र दर्ता गरिएको थियो। उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ।
उनी काठमाडौँको नक्सालस्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ। उनले बिचौलियासँगको भेटघाटका लागि सम्पर्कस्थान नै उक्त होटललाई बनाएका थिए। प्रतीक थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आबद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करोडौं रकम उठाउन लगाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
बादल गृहमन्त्री हुँदा प्रतीक प्रमुख स्वकीय सचिव थिए। यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, थापाका सल्लाहकार इन्द्रजित राई, खाणका सहयोगी नरेन्द्र केसी, एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।

प्रतिक्रियाहरु