आगामी बिहीबारसम्म देशभर पानी पर्ने, ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

२०८१ असार १८ गते, सोमबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आउँदो बिहीबारसम्म देशका विभिन्न ठाउँमा निरन्तर पानी पर्ने र केही जिल्लामा ठूलो पानी पर्ने सम्भावना छ । महाशाखाले वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जनाएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो ।
यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावना रहेको भन्दै ‘यलो अलर्ट’ जारी गरेको छ । रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् । विगत केही दिनदेखि देशभर मनसुनी वायु सक्रिय छ । न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास रहने भएकोले मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि महाशाखाले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो । अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन् । यसैगरी बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रेड अलर्ट जारी भएको छ ।
गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ जिल्लामा रेड अलर्ट जारी भएको छ ।
लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि अति जोखिमको संकेत स्वरुप रेड अलर्टको सूचीमा परेका छन् ।

प्रतिक्रियाहरु