नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठन गर्ने सहमति

२०८१ असार १९ गते, मंगलवार


काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठनका लागि सहमति भएको छ । सोमबार मध्यरातमा दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति भएको हो । सरकार बनाउने सहमतिका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुने सहमति भएको छ ।
त्यस्तै सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिने र प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषय पनि समावेश गरिएको छ । जसअनुसार एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेश प्रदेश सरकारको नेतृत्व भने मधेशवादी दललाई नै दिने सहमति भएको छ ।
यसैगरी , निर्वाचन प्रणालीलगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति पनि बनेको छ । जसका लागि संविधान संशोधन गर्नका लागि प्रारम्भिक सहमतिको मस्यौदा तयार गरिएको छ । यस मस्यौदामा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने तथा उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने उल्लेख छ ।
यस्तै प्रदेश सभामा पनि समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितलाई मात्रै राख्ने विषय समेटिएको छ ।

सहमति हुनुअघि काँग्रेस र एमाले नेताहरु राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए ।

प्रतिक्रियाहरु