कृषि प्राविधिकद्वारा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा धर्ना

२०८१ असार २० गते, बुधबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका छन् । बुधवार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ ।
कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताए । जोशीले आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको र ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताए । उनले भने – ‘हामीलाई २०७५ मा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरेको थियो । समायोजन गर्दा दरबन्दीभन्दा बढी समायोजन ग¥यो । त्यो बेला हामीलाई अवसर के दिइएको थियो भन्दा संघमा समायोजन हुने की प्रदेशमा, स्थानीयमा समायोजन हुने भन्ने अवसर दिइएको थियो । त्यो अवसर अनुसार हामीले संघ रोज्यौँ । संघमा संख्या १० र समायोजन २० गरेजसरी बढी संख्यामा समायोजन गरेको थियो । त्यो समायोजन मिलाउनुको सट्टा अहिले ६ वर्ष भइसक्यो । हाम्रो वृत्ति विकास पूरै ठप्प भयो ।’
जोशीले सबै अधिकृतहरुले हाजिरी नगरेको र सबै अधिकृतहरु बिदामा बसेको पनि बताए ।

प्रतिक्रियाहरु