फ्रान्सेली वामपन्थी गठबन्धनले विश्वमा ल्याएको हलचल

२०८१ असार २७ गते, बुधबार
डा. केशव देवकोटा



फ्रान्सको गत आइतबार सम्पन्न संसदीय निर्वाचनमा वामपन्थी दलहरुले सबैभन्दा बढी सिट ल्याउन सफल भएपछि विश्वमै हलचल भएको छ । शुरुमा त्यहाँको चरम दक्षिणपन्थी दल नेशनल -यालीले बहुमत ल्याउने प्रक्षेपण गरिएको थियो । तर न्यु पपुलर फ्रन्ट नामक वामपन्थी गठबन्धन नतिजामा अगाडि आयो । अन्तराष्ट्रिय समाचार संस्थाका समाचार बिवरणहरुअनुसार ५७७ सिटको राष्ट्रिय सभामा वामपन्थी गठबन्धनले १८२ सिट जितेको छ । वामपन्थी दलहरुले निर्वाचनको मुखैमा करिव तीनहप्ता अघिमात्र उक्त गठबन्धन बनाएका थिए । अति दक्षिणपन्थी मानिने नेशनल ¥याली गठबन्धनले १४३ सिट र राष्ट्रपति इम्मानुएल म्याक्रोंको मध्यमार्गी पार्टीले १६८ सिट जितेको अवस्था छ । कन्जरभेटिभ रिपब्लिकनले ४५ सिट जितेको छ । निर्वाचनको नतिजाअनुसार फ्रान्समा कुनैपनि दलले एकल सरकार बनाउन सक्ने स्थिति बनेन । वामपन्थी गठबन्धनले सरकार बनाउने दाबी गरिरहे पनि बहुमत कसरी पु¥याउनेभन्ने अझै एकीन हुनसकेको छैन । सरकार कसरी गठनगर्नेभन्ने बिषयमा छलफलगर्न सांसदहरु गत मंगलबार (जुन नौमा) फ्रान्सको संसदको तल्लो सदन नेशनल एसेम्बलीमा भेला भएका थिए । तर त्यसले कुनै निचोड दिन सकेन । राष्ट्रपति इम्यानुएल म्याक्रोनले गत सोमबार ( जुन आठमा) मात्र आफ्नो पार्टीका प्रधानमन्त्री गेब्रियल एटललाई दैनिक कार्यहरु जारी राख्न आग्रह गर्नुभएको र उहाँ बुधबार ( जुन १० मा) नाटोको शिखर सम्मेलनमा भाग लिन वाशिंटन पुग्नुभएकाले फ्रान्समा नयाँ सरकार गठन हुन केही समय लाग्ने र बामपन्थी गठबन्धन बिरुद्ध षडयन्त्र हुनसक्ने संकेतहरु देखिएका छन् । गत आइतबारको निर्वाचनले कुनै पनि समूहलाई सरकार बनाउन आवश्यक बहुमत नदिएकाले युरोपेली संघ (इयु) को दोश्रो सबैभन्दा ठूलो अर्थतन्त्र ठप्पहुने जोखिम बढाएको देखिन्छ । गठबन्धनका तीन मुख्य दलहरु कट्टर वामपन्थी फ्रान्स अनबोड, सोसलिष्ट र ग्रिन्सले नयाँ प्रधानमन्त्री खोज्न वार्ता थालेको देखिएको छ । त्यहाँ पनि दलहरुमा आन्तरिक गुटबन्दी चरम रहेकाले सहजै वार्ता निष्कर्षमा पुग्ननसक्ने अवस्था रहेको छ । केहीले कट्टर वामपन्थी छविलाई जोड दिइरहेका छन्भने केहीले मध्य–वामपन्थीलाई जोड दिएको पाइएको छ । संसदप्रति उत्तरदायी रहने फ्रान्सका प्रधानमन्त्रीलाई अविश्वासको मतमार्फत हटाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । पूर्वराष्ट्रपति फ्राँस्वा ओलान्डलगायतको सक्रियता पनि बढेको देखिएको छ ।
सोसलिष्ट पार्टीका शीर्ष वार्ताकार जोहान्ना रोल्यान्डले भावी प्रधानमन्त्री जिन–ल्युक मेलेनचोन नहुने बताउनुभएको छ । धेरै नरमपन्थीहरुलाई क्रोधित तुल्याउनुभएका भनिएका ल्युक मेलेनचोन फ्रान्स अनबोडका विभाजनकारी कट्टर वामपन्थी संस्थापक मानिनु हुन्छ । गत मंगलबार फ्रान्स–२ टेलिभिजनमा बोल्दै रोल्यान्डले वामपन्थी गठबन्धनले सम्भवतः म्याक्रोनको गठबन्धनको केन्द्र–वामपन्थी सदस्यहरुसँग काम गर्नसक्ने बताउनु भएको थियो । युरोपेली संसदका लागि भएको मतदानमा ईयूमा आबद्ध राष्ट्रका दक्षिणपन्थी दलहरु हाबी भएको पाइएको छ । फ्रान्समा पनि त्यस्तै नतिजा आउने आंकलनहरु भएका थिए । तर निर्वाचन अघिका ति आंकलनहरु सही साबित हुन सकेनन् । यसअघि पनि निर्वाचनमा आफ्नो दल पराजित भएसँगै फ्रान्सका राष्ट्रपति एमानुयल म्याक्रोंले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । जबकी त्यहाँको संसदको कार्यकाल सन् २०२७ सम्म बाँकीनै थियो । वामपन्थी गठबन्धनमा आबद्ध फ्रान्स अनबाउन्ड पार्टीका नेता जाँ ल्युक मेलेँसोले प्रधानमन्त्री गाब्रियल अट्टलले राजीनामा दिनुपर्ने बताइसक्नु भएको छ । उहाँले अति दक्षिणपन्थी र राष्ट्रपति म्याक्रोंको एजेन्डाविरुद्ध वामपन्थी गठबन्धनको जित भएको दाबिसमेत गर्नुभएको छ । फ्रान्समा राष्ट्रपति र प्रधानमन्त्री दुवैले कार्यकारी भूमिका निर्वाह गर्नेगरेको पाइन्छ । राष्ट्रपतिले सरकारको रेखदेखकासाथै सामरिक महत्वका निर्णयहरुसमेत लिनपाउने व्यवस्था छ । प्रधानमन्त्रिलाई भने राज्यका दैनिक प्रशासनको व्यवस्थापनगर्ने जिम्मा रहेको छ । जसलेगर्दा युरोपेली निर्वाचनमा रेनेसाँले ल्याउने परिणामलाई गाब्रिअल अट्टलको राजनीतिक भविष्यसँग पनि जोडेर हेरिएको थियो । म्याक्रोंले आफ्नो उत्तराधिकारीकारुपमा अघिसार्नुभएका गाब्रिअल अट्टलका लागिभने यो निर्वाचन पहिलो गाँसमै ढुंगा भनेजस्तो भएको छ । फ्रान्सेली राजनीतिमा म्याक्रों उदाएकोसमेत एक दशक पनि पूरा भएको छैन । सन् २०१६ को अप्रिलमा नयाँ दल स्थापना गरेका म्याक्रों त्यसको एक वर्षपछि सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।
सन् २०१७ मा पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि भएको मतदानमा म्याक्रोंले ६६.१ प्रतिशत मतसहित ला पेनलाई पराजित गर्नुभएको थियो । त्यतिबेलाको अवस्थामा राष्ट्रिय सभामा कुनै एक दलले बहुमत हाशिलगर्न नसक्ने अवस्था रहेको फ्रान्समा म्याक्रोंको नवगठित पार्टी रेनेसाँले परम्परा भत्काइदिएको थियो । सन् २०१७ को जुनमा भएको संसदीय निर्वाचनमा म्याक्रोंको दल रेनेसाँले बहुमत ल्याउन सफल भएको थियो । उक्त दलले त्यतिबेला ५७७ सिटको राष्ट्रिय सभामा ३०८ सिट जितेको थियो । म्याक्रों सन् २०२२ मेमा लु पेनलाई पराजितगर्दै पुनः राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । सोही वर्ष भएको निर्वाचनमाभने उहाँको दलले संसदमा बहुमत गुमाएको थियो । राष्ट्रिय सभामा उहाँको दल १५३ सिटमा सीमित भएको थियो । फ्रान्सको हालै सम्पन्न संसदीय निर्वाचनमा कुनैपनि गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसकेपछि राजनीतिक गतिरोध उत्पन्न भएको देखिएको छ । फ्रान्समा सामान्यतया सबैभन्दा ठूलो राजनीतिक समूहका प्रतिनिधिलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने परम्परा रहेको छ । त्यसैले वामपन्थी गठबन्धनले एक साताभित्रै राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम प्रस्तावगर्ने संभावना छ । अर्कातिर आरएनका नेता जोर्डन बार्डेलाले आफ्नो दललाई विजयी हुनबाट वञ्चित गरिएको तथा फ्रान्सलाई अनिश्चितता र अस्थिरतातर्फ धकेलिएको बताउनु भएको छ । माक्रोँले एक महिनाअघि मात्र संसदीय निर्वाचनको घोषणा गर्नुभएको थियो । युरोपेली संसदको निर्वाचनमा अति दक्षिणपन्थीहरुसँग हार बेहोरेपछि उहाँले निर्वाचनको घोषणा गर्नुभएको मानिन्छ । पहिलो चरणको निर्वाचनमा आरएनको पक्षमा नतिजा आउने देखिएपछि धेरै स्थानमा वामपन्थी र मध्यमार्गीहरुले अप्रत्यक्ष तालमेल गरेका थिए । कतिपय स्थानहरुबाट वामपन्थी र मध्यमार्गीहरु उम्मेदवारहरुले मनोनयन फिर्ता लिएर गठबन्धनमा सन्तुलन मिलाइएको देखिएको थियो । जसलेगर्दा अति दक्षिणपन्थी विरोधी मत दुईतिर नबाँडिएर एउटै उम्मेदवारलाई जाने अवस्था सिर्जना भएको थियो । त्यसलाई फ्रान्समा अति दक्षिणपन्थीहरुलाई हराउन गरिएको रणनीतिक तालमेलकारुपमा समेत लिइएको थियो । यसपालिको निर्वाचनमा फ्रान्समा तनावपूर्ण वातावारण सिर्जना भएकाले व्यापक प्रहरी परिचालन गरेर निर्वाचन सम्पन्न गराउनु परेको थियो । संसद त्रिशंकु बन्ने शुरुमै निश्चितजस्तै थियो । संसदमा बहुमतका लागि २८९ सिट चाहिन्छ । कुनै पनि दलले एकल बहुमत नल्याएकाले वामपन्थी दल र राष्ट्रपति म्याक्रोंको गठबन्धनले संयुक्त सरकार बनाउने संभावना देखिएको छ । गत आइतबार भएको पहिलो चरणको मतदानमा आरएनले एकतिहाइ मत प्राप्तगर्दै ऐतिहासिक जित हाशिल गरेको थियो ।
वामपन्थी गठबन्धन एनएफपी दोश्रो र राष्ट्रपति इम्यानुएल म्याक्रोंको गठबन्धन अनसम्बल तेश्रो स्थानमा रहेका थिए । तर पहिलो चरणमा आरएनले ल्याएको भारी मतबाट त्रसित एनएफपी र अनसम्बलले एक–अर्कालाई सघाउने सहमति गरेपछि दोश्रो चरणमा दक्षिणपन्थी दल आरएन ऐतिहासित जितबाट विमुख भएको थियो । निर्वाचनमा आश्चर्यजनकरुपमा जित हात पारेपछि वामपन्थी नेता जिन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेष्टाइनलाई राज्यको मान्यता दिने बताउनुभएको छ । यसअघि चार युरोपेली राष्ट्र स्पेन, नर्वे, आयरल्यान्ड र स्लोभानियाले प्यालेष्टाइनलाई राज्यको मान्यता दिइसकेका छन् । विशाल युरोपेली एकता र आप्रवासन विरोधी दस्तासहितको त्रिशंकु संसदले फ्रान्सको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर पार्नसक्ने र युक्रेनमा रुसको आक्रमणको सामना गरिरहेको पश्चिमी एकतालाई पनि खतरामा पार्नसक्ने कतिपय जानकारहरुको ठम्याई छ । निर्वाचनअघि आरएनलाई पूर्ण बहुमत प्राप्त हुनबाट रोक्ने प्रयासका लागि केन्द्र र वामपन्थी उम्मेदवारहरुबीच २०० भन्दा बढी रणनीतिक मतदान सम्झौताहरु भएको भनिएको थियो । यस पटकको निर्वाचनमा बामपन्थी गठबन्धनको जितले र फ्रान्सको भविष्यको लागि धेरै आशा पलाएको त्यहाँका राजनीतिक बिश्लेषकहरुको ठम्याई छ । निर्वाचनको नतिजापछि बामपन्थी न्यू पपुलर फ्रन्टका सयौं समर्थकहरुले पेरिसको रिपब्लिक स्क्वायरमा उत्सव पनि मनाएका थिए । फ्रान्समा उदाएका संसदवादी बामपन्थीहरुको भाबि शासन कस्तो हुने हो ? भन्ने धेरैले जिज्ञासा ब्यक्त गरेको देखिएको छ ।

प्रतिक्रियाहरु