शहीद गंगालाल अस्पतालद्वारा १२ घण्टा अपरेसन सेवा !

२०८१ असार ३० गते, शनिबार

काठमाडौँ । आगामी साउन १गते देखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले १२ घण्टा अपरेसन सेवा दिने भएको छ। अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभागका प्रमुख डा. रामेश कोइरालाद्वारा जारी बिज्ञप्तिअनुसार साउन १ गतेदेखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको छ ।
प्रमुख डा. रामेश कोइरालाका अनुसार कार्डियोभास्कुलर सर्जरी विभागमा दिनानुदिन अपरेसन गर्नुपर्ने बिरामीको चाप बढ्दै गइरहेको तर बिहान ९ बजे अपरेसन सुरु गर्दा एउटा अपरेसन थिएटरमा सरदर दुईटाभन्दा बढी अपरेसन गर्न समय अपुग भएका कारण दैनिक सेवा अवधि बढाउने निर्णय गरिएको हो । उनले यसका लागि आवश्यक नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारी व्यवस्था गरिदिन अस्पतालका कार्यकारी निर्देशकसँग अनुरोध गर्दै ती कर्मचारी बिहान ७ बजेदेखि राति ९ बजेसम्मका लागि उपलब्ध गराई उनीहरूको यातायातको प्रबन्धसमेत मिलाइदिन माग गरेका छन्।

प्रतिक्रियाहरु