टेलिकमले ल्यायो मनसुन अफर

२०८१ श्रावण १ गते, मंगलवार

काठमाडौँ । नेपाल टेलिकमले आजदेखि लागू हुनेगरी मनसुन अफर ल्याएको छ। यस अफरअन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १ सय ९९ रूपैयाँदेखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन्। यसअन्तर्गत १ सय ९९ मा २०० मिनेट अल-नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ। सोहीअन्तर्गत कम्पनीले २ सय ९९ रूपैयाँमा ३०० मिनेट अल-नेट भ्वाइस, ४ जीबी डाटा र २० अन-नेट एसएमएससहितको कम्बो २९९ प्याक र ४ सय ९९ रूपैयाँमा ५०० मिनेट अल-नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल-नेट एसएमएससहितको कम्बो ४९९ प्याक उपलब्ध गराउने टेलिकमले जनाएको छ।
प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याकअन्तर्गत ६ सय ९९ रूपैयाँमा अनलिमिटेड अल-नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल-नेट एसएमएससहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ। साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुविधा थप गरी उक्त प्याकहरुलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ।
डाटा प्याकअन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधि रहेका २९ देखि ९ सय ९९ रूपैयाँसम्मका १ जीबीदेखि १०० जीबीसम्म रिसोर्ससहितका विभिन्न आकर्षक डाटा प्याकहरु उपलब्ध हुनेछन्। पोस्टपेडमा भने ३ सय ७३ रूपैयाँ वा सोभन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिकरुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुनेछ।
कम्पनीले अन-नेट अर्थात कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरु, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल-नेट प्याकेजहरुका साथै ४९ रूपैयाँमा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र ५९ रूपैयाँमा अनलिमिटेड अन-नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटासहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा १ सय ९९ रूपैयाँमा भ्वाइस तथा डाटा सुविधासहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ।
यसका साथै कम्बो प्याकेज, अनलिमिटेड प्याकेज लगायतका प्याकेज प्रयोगकर्ताका लागि रिसोर्स समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने गरी सहुलियत दरमा एड अन प्याकेजहरुसमेत सञ्चालन गरिने टेलिकमले जनाएको छ।
ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्। त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु