आर्सनलद्धारा लिभरपुल पराजित !

२०७७ श्रावण १ गते, बिहीबार

काठमाडौं , १  साउन  ।  इंङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई पराजित गरेको छ । गएराति आर्सनलको मैदानमा २–१ ले पराजित भएसँगै च्याम्पियन लिभरपुलको यो सिजन सय अंक जोडेर किर्तीमान बनाउने लक्ष्य टुटेको छ । गएरातिको खेलमा आर्सनललाई विजयी गराउन फ्रेन्च स्ट्राईकर अलेक्जेण्डर लाकाजेट् र रेइस नेल्सनले एक एक गोल गरे । खेलमा सादियो मानेले एक गोल गर्दै लिरभपुललाई सुरुवाती अग्रता दिलाएपनि टोलीलाई जिताउन भने सकेनन् । गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई २–१ ले हरायो । सिटीका लागि डेभिड सिल्भा र ग्याब्रियल जिससले एक एक गोल गरे । बर्नमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काए ।

प्रिमियर लिगमै टोटनह्याम हट्सपरले न्युकसाल युनाईटेडले ३–१ ले हरायो । टोटनह्यामका लागि ह्यारी केनले दुई तथा सन हिउङ मिनले एक गोल गरे । यो खेलसँगै केनले टोटनह्यामका लागि दुईसय गोलको किर्तीमान पार गरेका छन् । गएराती २ गोल गरेका केनले टोलीका लागि अलिहेसम्म २ सय १ गोल गरिसकेका छन् । प्रिमियर लिगमा गएरातिका खेलहरुपछि च्याम्पियन लिभरपुलले ३६ खेलबाट ९३ अंक जोडेको छ । समान खेलबाट ७५ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको ६३ अंक छ । एक खेल कम खेलेका लेष्टर सिटी र म्यान्चेस्टर युनाइटेडको भने ५९ अंक रहेको छ ।

प्रतिक्रियाहरु