वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ११.९१ प्रतिशतले वृद्धि

काठमाडौँ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आव २०८१/८२ को यो अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ११.९१ प्रतिशतले बढेको हो। गत आवको यो अवधिमा ६ लाख १२ हजार ९१० जनाले श्रम स्वीकृति लिएका थिए।चालु आवको यस अवधिमा छ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ। यो संख्या गत आवको तुलनामा चालु आवमा ७३ हजार ४०३ जनाले बढी हो।
चालुु आव २०८१/८२ को १० महिनामा सबैभन्दा बढी सङ्ख्याले मंसिरमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ। चालु आवको मङ्सिरमा ८४ हजार २२७ जना र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएका थिए।
विभागका अनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र कात्तिकमा ७० हजार ९९० जना श्रम स्वीकृति लिएर विदेशिएका थिए। यस्तै पुसमा ६७ हजार १५३, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।