नेपाल कम्युनिष्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाद्वारा एमसीसी कम्प्याक्टलाई खारेज गराएरै छाड्ने उद्घोष

२०७८ फाल्गुन १४ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले फागुन १५ र १६ गते घोषणा गरिएका जनसंघर्षका कार्यक्रममा व्यापकरुपमा सहभागिता जनाई एमसीसी कम्प्याक्टलाई खारेज गराएरै छाड्न संघर्षरत राजनीतिक पार्टीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त र आमनेपाली जनतामा विशेष आव्हान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त विज्ञप्ती जारी गर्दै सो आह्वान गरेका हुन् ।
उनीहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा फागुन ८ र १२ गतेको नयाँ बानेश्वरको विरोध प्रदर्शन र संसद् भवन घेराउ कार्यक्रमबाट गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य वसन्त बोगटी, नेपाल कम्य्ुनिस्ट पार्टीका विज्ञान रोक्का, हेमन्तराज खड्का र सुदर्शन पाण्डे, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रदेश सदस्य भूपाल सेन्चुरीलगायत दर्जनभन्दा बढी आन्दोलनकारीहरूलाई देउवा सरकारले अहिलेसम्म पनि रिहा नगरी झुट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिराखेकोले, षड्यन्त्र रोकी तत्काल रिहा गर्न नेपाल सरकारसँग जोडदार मागसमेत गरिएको छ । यसैगरी, फागुन १२ गतेको जनसंघर्षको कार्यक्रममा बानेश्वर अल्फाबिटा नजिक गम्भीर घाइते भई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारमा रहेका अछाम जिल्लाका युवा हेमराज अवस्थीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको निःशुल्क उपचार गर्न नेपाल सरकारसँग विशेष मागसमेत गरिएको छ ।


यस विषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष सुशील, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ– ‘आज छ कम्युनिस्ट पार्टी र दुईवटा मोर्चाको बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । बदलिदो परिस्थिति र एमसीसी कम्प्याक्टविरुद्ध संघर्षको मोर्चाको पेचिलो अवस्थालाई दृष्टिगत गरी तपशिल बमोजिम पूर्व घोषित जनसंघर्षका कार्यक्रम परिमार्जन र विकास गरी सार्वजनिक गरेका छौँ ।


१. फागुन ८ र १२ गतेको नयाँ बानेश्वरको विरोध प्रदर्शन र संसद भवन घेराउ कार्यक्रमबाट गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कमरेड बसन्त बोगटी, नेपाल कम्युनिस्ट पार्टीका कमरेडहरू विज्ञान रोक्का, हेमन्तराज खड्का र सुदर्शन पाण्डे, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रदेश सदस्य क. भूपाल सेन्चुरी लगायत दर्जनभन्दा बढी आन्दोलनकारीहरूलाई देउवा सरकारले अहिलेसम्म पनि रिहा नगरी झुट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिराखेकोले, षड्यन्त्र रोकी तत्काल रिहा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।
२. १२ गतेको जनसंघर्षको कार्यक्रममा बानेश्वर अल्फाविटा नजिक गम्भीर घाइते भई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारमा रहनु भएका अछाम जिल्लाका युवा हेमराज अवस्थीको शीघ्र स्वास्थ्यलाभको कामना गदछौं । उहाँको निःशुल्क उपचार गर्न नेपाल सरकारसँग विशेष माग गर्दछौं ।
३. फागुन १५ र १६ गते घोषणा गरिएका जनसंघर्षका कार्यक्रममा व्यापक रुपमा सहभागिता जनाई एमसीसी कम्प्याक्टलाई खारेज गराएरै छाड्न संघर्षरत राजनीतिक पार्टीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त र आमनेपाली जनतामा विशेष आव्हान गर्दछौं ।
संघर्षका कार्यक्रमहरू
फागुन र १५ र १६ गते काठमाडौँ उपत्यकामा माइतीघर मण्डलाबाट विशाल विरोध प्रदर्शनसहित संसद् भवन घेराउ गर्ने र उपत्यका बाहिर देशव्यापी रूपमा जिल्लाहरूमा विरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने ।”

प्रतिक्रियाहरु

[anycomment]