नेकपासहित ४ कम्युनिस्ट पार्टीद्वारा संयुक्त संघर्षको उदघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले संयुक्त संघर्षको उदघोष गरेका छन । ति पार्टीले मंगलबार प्रज्ञाभवन, कमलादीमा आयोजित पत्रकार सम्मेलनमार्फत संयुक्त संघर्षका कार्यक्रम सार्बजनिक गरेका हुन् । घोषित संघर्षका कार्यक्रम अन्तर्गत साउन १३ गते देशब्यापी कोणसभा, साउन १५ गते देशब्यापी मसाल जुलुस, साउन १८ गते काठमाण्डौंमा अन्तरकृया र साउन २१ गते प्रदेश सदरमुकाम र काठमाण्डौंमा बिरोध प्रदर्शन गर्ने रहेका छन ।
उक्त पत्रकार सम्मेलनमा वितरण गरिएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ द्वारा जारी संंयुक्त विज्ञप्तिमा भनिएको छ – ‘नेपालका ४ क्रान्तिकारी कम्युनिष्ट पार्टीको ०७९ श्रावण ८ गते बसेको संयुक्त वैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनका लागि यो संयुक्त प्रेस विज्ञप्ति तयार गरिएको छ ।
१ -देश यतिवेला राष्ट्रिय स्वाधीनता, राजनैतिक, आर्थिक, जनजीविका र सामाजिक सुरक्षा लगायतका समस्याहरुको चरमोत्कर्सतिर छ । २१ औँ शताव्दीको वहुधुर्वीय विश्वको विशेषताले सन् १९९० को दशक पछि अमेरिकी साम्राज्यवादले कायम गरेको विश्व प्रभुत्व कमजोर पर्दै गएको छ । गुम्दै गएको वर्चस्वलाई पुनः स्थापित गर्न अमेरिकी साम्राज्यवाद नयाँ विश्व रणनीतिको विकास र प्रयोगमा तिव्रताकासाथ पहल गरिरहेको छ । हिन्द प्रशान्त रणनीति (IPS) यसको मुख्य अंग हो । IPSको सैन्य अर्थ राजनीतिक कार्यक्रम र परियोजनाको रुपमा MCC अगाडि बढाईरहेको छ ।
नेपालमा MCC लागु गर्न शेरबहादुर देउवा नेतृत्वको गठवन्धन सरकारले सदनबाट पारित गराउने दृष्टता गर्दा राष्ट्रिय रुपमा नेपाली जनताको कडा बहस, विवाद, विरोध र प्रतिरोधको सामना गर्नु पर्यो । यसको वीचबाट MCC विशुद्ध आर्थिक एवं विकास परियोजना हो भन्ने धुर्त र नितान्तै झुट कुतर्कको साहारा लिएर दलालहरुले सदनबाट धाधलीपूर्ण तरिकाले पारित गराए । त्यसको केहि समय वित्न नपाउदै सयुक्त राज्य अमेरिकासँग राज्य साझेदारी कार्यक्रम (SPP) को मुद्धा मुख्य बन्न पुगेको छ । नेपाली जनताको चर्को विरोधका कारण असार ६ गते देउवा सरकार SPP लागु नगर्ने र सो अनुसार अमेरिकी सरकारलाई पत्राचार गर्ने निर्णय गर्न वाध्य भयो । तर थप अध्ययन र परामर्शको नाममा सरकारले अहिलेसम्म अमेरिकालाई पत्राचार गरेको छैन । यस कार्यले देउवा सरकारको नियत उदाङगिएको छ ।
घटनाक्रम र तत्थ्यहरुले यो प्रमाणित गर्दछन कि IPS, MCC र SPP अमेरिकी साम्राज्यवादको हाम्रो राष्ट्रियता माथिको शृखंलावद्ध हस्तक्षेप हो भने देउवा नेतृत्वको गठवन्धन सरकारको राष्ट्रघात एवं आत्मसमर्पण हो । यसले इतिहासका विदेशी हस्तक्षेप र राष्ट्रघातलाई माथ गरेको छ । यसका विरुद्ध निमर्म जनसंघर्ष गर्नुको विकल्प नेपाली जनताका सामु रहेको छैन ।

२- देशको विद्यमान राज्य ब्यवस्था र अर्थ ब्यवस्था असफल सावित हुँदै गएको छ । खाद्य वस्तु लगायतका दैनिक उपभोग्य वस्तुमा भएको वेलगाम चर्को मुल्यवृद्धिले जनतामा आतंक सृजना गरेको छ । महंगीका कारण नेपाली जनताले जिवन जिउन सक्ने अवस्था छैन । यस विषयमा सरकारको संवेदनशिलता र जवाफदेयीता न्युनतम पनि छैन ।
३- केपी ओली सरकार र नेपाल कम्युनिस्ट पार्टीको वीच वार्ता भई ३ वुँदे सहमति भएको आज १८ महिना भयो । देउवा सरकार गठन भएको तेश्रो दिनमा सरकार र नेपाल कम्युनिस्ट पार्टी वीच वार्ता भएको थियो । ३ वुँदे सहमति लागु गर्ने सन्दर्भमा सरकारसँग पटक पटक वार्ता र सहमति भएपनि हालसम्म राजवन्दी रिहा गरिएका छैनन । पछिल्लो दिनमा त सरकार षड्यन्त्रमा लागेको आभास हुन थालेको छ । यसले ३ वुँदे सहमति भंग हुदैछ भन्ने संकेत गर्दैछ ।
४- देशमा विद्यमान राष्ट्रिय स्वाधीनता, राजनीतिक तथा आर्थिक क्षेत्रमा बढ्दै गएको संकट, जनताको विकराल जनजीविका, ३ वुँदे सहमतिका विरुद्धको षडयन्त्रलाई एक ठाँउमा राखेर हेर्दा जनसंघर्षको बल बाहेक अन्य तरिकाले देश र नेपाली जनतालाई संरक्षण गर्न सकिने अवस्था देखिदैन । स्थिति र विषयको यहि गम्भिर्यतालाई दृष्टिगत गरी विगत देखि कार्यगत एकताको माध्यमबाट जनसंघर्षको नेतृत्व गरिरहेका हामी ४ क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु कार्यगत एकतालाई रणनीतिक संयु्क्त मोर्चाको स्तरमा विकाश गर्न प्रतिवद्ध भएका छौ । साथै विगतमा कार्यगत एकता र संयुक्त मोर्चाको अभ्यासमा देखापरेको भडुवा चिन्तन र षड्यन्त्रकारी शैली विरुद्ध संयुक्त संघर्ष गर्दै क्रान्तिकारी कम्युनिस्ट, वामपंथी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्ति एवं समुहलाई यस कार्यगत एकता प्रकृयामा सामेल हुन र राष्ट्रिय स्वाधीनता एवं जनअधिकार रक्षाको संयुक्त जनसंघर्षमा सामेल हुन विशेष अपिल गर्दछौ ।
संयुक्त संघर्षका कार्यक्रमहरु ः
१-साउन १० गते संयुक्त पत्रकार सम्मेलन
२-साउन १३ गते देशव्यापी कोणसभा
३-साउन १५ गते देशव्यापी मशाल जुलुस
४-साउन १८ गते काठमाण्डौमा अन्र्तरक्रिया
५-साउन २१ गते प्रदेश सदरमुकाम र काठमाण्डौमा विरोध प्रदर्शन ।
यसपछि उच्च स्तरको दोश्रो चरणको जनसंघर्षका कार्यक्रमहरु घोषणा गरिने छ ।’

