रणनैतिक संयुक्त मोर्चाद्वारा देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय रणनैतिक संयुक्त मोर्चाले नागरिकता बिधेयक, अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्ध आइतबार देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेका छन् । यसैक्रममा काठमाडौंको मुख्य सडक बागबजारमा चार कम्युनिष्ट पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

बागबजारको भक्तपुर बसपार्कबाट सुरू भएको मसाल जुलुस पुतलीसडक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई चार पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । मसाल जुलुसमा एमसीसी मुर्दावाद, एसपीपी खारेज गर, नागरिकता बिधेयक खारेज गर, चार दलिय मोर्चा जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद लगायतका नाराहरू लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले नागरिकता बिधेयक मार्फत नेपाललाई फिजिकरण र सिक्किमकरण गर्न लागेको भन्दै जनताद्वारा यसलाई अस्वीकार गर्न पर्ने बताए । ‘हामीले नयाँ लेण्डुपेहरु कोको हुन चिनीराखौँ ।’, सम्बोधन गर्दै शाहीले भने, ‘नागरिकता विद्येयक मार्फत देश बेच्न सुरु गरिसकेका छन् । जनस्तरबाट यसको विरोध गर्दै खारेज गर्न पर्छ ।’

अमेरिकाले नेपालमा एमसीसी र एसपीपीमार्फत नेपाली आमाको छात्तीमा बुट प्रहार गरिरहेको भन्दै नेपाल आमाका सपुतहरुले यसको प्रतिकार गर्न पर्ने बताए ।
यता, संयुक्त मोर्चा संघर्ष समिति मकवानपुरको आयोजनामा हेटौंडामा मशाल जुलुस कार्यक्रम भएको छ । राष्ट्रघाती एमसीसी, आइपीएस, एसपीपी सम्झौता विरुद्ध मशाल जुलुस गरेको हो । साथै मोर्चाले नागरिकता विधेयकका राष्ट्रघाती प्रावधानहरु खारेज गर्न, महङ्गी, भ्रष्टाचार, कालाबजारी नियन्त्रण गर्न तथा राजबन्दीहरु रिहाइको समेत माग गरेको छ । साँझपख हेटौंडा चौकिटोलको लोकप्रिय चोकबाट निस्केको मशाल जुलुस बुद्धचोकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज सन्देश पौडेलले विभिन्न राष्ट्रघाती सम्झौताहरु खारेज गर्नुका साथै नागरिकता विधेयकका राष्ट्रघाती प्रावधानहरु तत्काल खारेज गर्न जोड्दार माग गरेका छन् । खण्डित हुनबाट देशलाई बचाउन र राष्ट्रिय स्वाधीनतालाई जोगाउन पुलिस प्रशासन, पत्रकार, बुद्धिजीवी लगायत सम्पूर्ण राष्ट्रप्रेमी, देशभक्त शक्तिहरु एकजुट भइ संघर्षमा उत्रिन आव्हान गरेका छन् । त्यस्तै कार्यक्रम विभिन्न ६ दल दुई मोर्चा र एक बुद्धिजीवी संगठनको संयुक्त आयोजनामा भएको हो। बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा भएको उक्त कार्यक्रम बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म भएको छ। साँझ पाँच बजेपछि कोणसभा गरि कार्यक्रम समापन गरिएको थियो। कोणसभाको सम्बोधन गर्दै नेकपा माले मकवानपुरका जिल्ला सदस्य कृष्ण प्रसाद दाहालले मशाल जुलुस एउटा सानो झिल्को मात्रै भएको र यदि राष्ट्रघाती कदम फिर्ता नलिए देशमा आगो बल्ने कुरा यकिन गरेका छन् ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय मोर्चाले नागरिकता बिधेयक, एमसीसी, एसपीपी बिरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् । पोखराको जेरो किमि मा चार कम्युनिष्ट पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् । पोखराको फिर्के पुलबाट सुरू भएको मसाल जुलुस जेरो किमि चोकमा पुगेर सम्पन्न गरिएको थियो । मसाल जुलुसमा एमसीसी मुर्दावाद, एसपीपी खारेज गर, नागरिकता बिधेयक खारेज गर, चार दलिय मोर्चा जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद , नालायक सरकार मुर्दावाद लगायतका नाराहरू लगाइएका थिए ।
अमेरिकाले नेपालमा एमसीसी र एसपीपी मार्फत नेपाली आमाको छात्तीमा बुट प्रहार गर्नकै लागी विभिन्न रणनीति द्वार नेपालमा सैन्य बल भित्र्याउन प्रयास गरिरहेको भन्दै नेपाल आमाका राष्ट्र प्रेमी सन्तानहरुले यसको बिरोध निरन्तर गर्नुपर्ने वताएका थिए । आफ्नो पार्टी र आफुहरु राष्ट्रिय स्वाधिनता, राजनैतिक आर्थिक, जनजीविका सामाजिक सुरक्षा लगायतका समस्याहरू र हिन्द प्रशान्त रणनीति (IPS), (MCC) र (SPP) जस्ता ठुला राज्यले लाडेको राष्ट्रियतामाथीको शृङखलाबद्ध हस्तक्षेपका विरुद्ध अन्तिम सास रहँदा सम्म लड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यता, नेकपासहित चारवटा कम्युनिस्ट पार्टीले घोषणा गरेको एमसिसि, एसपिपि, राष्टघाति नागरिकता विधेयक र महङी बिरुद्ध केन्द्रीय कार्यक्रम अनुसार दैलेख वजारमा मसाल जुलुश कार्यक्रम सम्पन्न भएको छ । मसाल जुलुशमा अमेरिकी सम्राज्यवाद मुर्दावाद ! एमसिसि खारेज गर ! एसपिपि खारेज गर ! राष्ट्रिय स्वाधिनताको रक्षा गरौ ! लगायतका नारा सहित मसाल जुलुश भएको थियो ।

मसाल जुलुश कार्यक्रम पछि भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा दैलेखका सेक्रेटरी कलम बिश्वकर्मा दिपेन्द्रले देशलाई राष्ट्रघाति एमसिसि, एसपिपि सम्झाौताले युक्रेन वनाउने कुरा उल्लेख गर्दै एमसिसि सम्झौता सँगै एसपिपि, राष्ट्रघाति नागरिकता बिधेयक संसदबाट पास गर्नु, भष्टाचार बढ्नु र महङ्गी बढ्दै जानुले यो ब्यवस्था असफल प्रमाणित भएको बताए । उक्त कोणसभाको संञ्चालन नेकपा जिल्ला समिति सदस्य प्रकाशले गरेका थिए ।
यसैगरी, राष्ट्रघाती एमसीसी र एसपीपी सम्झौता खारेजीको माग गर्दै गुल्मीको पाँच स्थानमा नेकपाले मसाल जुलुस प्रदर्शन गरेको छ । चार पार्टीद्धारा घोषणा गरिएको केन्द्रीय कार्यक्रम अन्तर्गत गुल्मीमा नेकपाले मसाल जुलुस तथा कोणसभा सम्पन्न गरेको हो । गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक, अस्लेवा चौर, धुर्कोत गाउँपालिकाको बर्बोट र नयाँगाउँ, मदानेको पुर्कोत दहमा नेकपाले मसाल जुलुस सम्पन्न गरेको हो ।
सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा भएको मसाल जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा गुल्मीका सेक्रेटरी सुमनले एमसीसी र एसपीपी सम्झौता राष्ट्रघाती भएको भन्दै यसलाई कुनै हालतमा पनि कार्यान्वयन गर्न नदिने बताउदै साम्राज्यवादका दलालहरुको दिनगन्ती सुरु भएको बताए । उनले एमसीसी पास गर्ने साम्राज्यवादका दलालहरुलाई देशबाट लेखेट्नुपर्ने बताउदै राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता रक्षाका लागी देशभक्त र क्रान्तिकारीहरुले संघर्ष गर्नुपर्ने बताए । उनले राष्ट्रघाती नागरिकता विधेयक फिर्ता गर्नुपर्ने र महंगी, भ्रष्टाचार, लघुवित्त संस्थाको ज्यादती र सामाजिक अपराध विरुद्ध पार्टीले सम्झौताहिन संघर्ष गर्ने समेत बताए ।
सत्यवती गाउँपालिकाको अस्लेवा चौरमा भएको मसाल जुलुसपछिको कोणसभालाई गाउँपालिका इन्चार्ज पुरुषोत्तम अधिकारी र युवा संगठन नेपाल गाउँपालिका संयोजक गम्मर तरामु मगर, मदाने गाउँपालिकाको पुर्कोट दहमा भएको मसाल जुलुसपछिको कोणसभालाई जिल्ला जनसरकार प्रमुख एवं गाउँपालिका इन्चार्ज बसन्त गैरेले संवोधन गर्नुभएको थियो ।
धुर्कोट गाउँपालिकाको बर्बोटमा भएको जुलुसपछिको कोणसभालाई नेकपा जिल्ला सदस्य एवं अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रीय सदस्य विनोद पोखरेल र नयाँ गाउँमा भएको मसाल जुलुसपछिको कोणसभालाई नेकपा जिल्ला सदस्य एवं युवा संगठन नेपाल जिल्ला संयोजक चन्द्र सुनारले सम्बोधन गरेका थिए ।
मसाल जुलुसमा सयौंको संख्यामा युवा एवं जनसमुदायको सहभागिता रहेको थियो । केन्द्रीय कार्यक्रम अन्तर्गत गरिएको मसाल जुलुसमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नाराबाजी गरिएको थियो ।