‘जनयुद्धमाथि हमला गर्ने विरुद्ध मिडिया मोर्चाबाट प्रतिरोध गरौँ ‘
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीेले साम्राज्यवादका दलालहरुले जनयुद्धमा सहभागी नेता कार्यकर्तामाथि जनयुद्धको मुद्धा लगाउने षडयन्त्र गरिरहेको भन्दै मिडिया मोर्चाबाट प्रतिरोध गर्न आग्रह गरेका छन । नवलपरासीको मिलनचोकमा आयोजित जनपत्रकार संगठन नेपालको केन्द्रीय समिति सचिवालय समितिको बैठकलाई शुक्रवार सम्वोधन गर्दै नेता अनिल सीले जनयुद्धमाथि हमला गर्ने जो सुकै भएपनि त्यसविरुद्ध कडा प्रतिरोध गर्न आग्रह गरेका हुन ।
उनले प्रचण्डलाई हाने जस्तो गरेर साम्राज्यवादका दलालहरुले जनयुद्धमाथि हान्न नपाईने उल्लेख गर्दै भने – ‘जनयुद्ध भनेको नेपाली जनताको मुक्तिको लागि संचालित महान युद्ध हो । यो सामन्तवाद तथा साम्राज्यवादी दलालहरुको शोषण, दमन र हस्तपेक्षका विरुद्ध संचालित न्यायपूर्ण युद्ध हो । यसलाई अपराधीकरण गर्न मिल्दैन ।’
नेता अनिल सीले जनयुद्धमाथि आक्रमण गर्दै जनयुद्ध लडेका नेता कार्यकर्तामाथि मुद्धा लगाउनु भनेको नेपाली वर्गसंघर्ष र नेपाली जनता विरुद्ध गम्भीर षडयन्त्र भएको ठोकुवा गरे । उनले नेपालको मिडिया मोर्चाको नेतृत्व जनपत्रकारहरुले गर्नुपर्ने भन्दै साम्राज्यवादका दलालहरुले जनता विरुद्ध गरेको गोवयबल्स प्रचारको कलमबाट प्रतिवाद गर्नु पर्ने बताए ।
उक्त बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला इन्चार्ज कमलले जनपत्रकारहरुले जनताको पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताए । उनले पत्रकार संगठन र पार्टी बिच विज्ञापनका विषयमा अन्तरविरोध आउने गरेको भन्दै त्यसलाई सहकार्य र समझदारी गरेर काम गर्नु पर्ने सुझाव दिए ।
बैठकमा नेकपा नवलपरासीका सेक्रेटरी प्रताप,महिला नेतृ हरिकला,प्रतिनिधि समिति सदस्य सुस्मा लगायतको आतिथ्यता रहेको थियो ।संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।
जनपत्रकार संगठन नेपालको उक्त बैठकले नेपाल पत्रकार महासंघमा देखिएको सदस्यता विभेद समाधान नभएको भन्दै थप दबावमुलक आन्दोलन गर्ने निर्णय गरेको छ । बैठकले महासंघमा केही निश्चित संगठनको सिण्डिकेट कायम देखिएको र साना संगठनको कुरा नसुन्ने प्रवृति देखिएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो । बैठकले उपत्यका प्रदेशले महासंघ विरुद्ध गरेको संघर्षको कार्यक्रमले केही सफलता प्राप्त गरेपनि अझै दबाव नपुगेको निश्कर्ष निकाल्दै केन्द्रीय तहबाटै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्ना वा तालावन्दीको संघर्षसम्म गर्नुपर्ने निर्णय गरेको छ ।
पत्रकार महासंघले नयाँ सदस्यताको आवेदन फारम माग गरेपछि आफ्नो संगठनका धेरैजसो क्रियाशिल पत्रकारहरुले आवेदनहरु दिएको र मापदण्ड पुग्दा पनि रोकेर राखेको, यस्तै उपत्यका प्रदेशमा सबै संगठनका आवेदनहरु रोकिएको जनपत्रकार संगठन नेपालले बताएको छ ।
बैठकले महासंघको आगामी चुनावमा देशभर उम्मेदवार दिने निर्णय पनि गरेको छ । यस्तै बैठकले प्रत्येक प्रदेश तहमा पनि महासंघको चुनावमा लड्ने उम्मेदवारहरुको तयारी गर्ने,एक अर्कोसंगठनसंग छलफल तथा सहकार्य गर्ने गरी टिमहरु बनाउने निर्णय गरेको छ ।
बैठकले संगठनलाई सुदृढ तथा विस्तार गर्ने, अन्तरक्रिया, तालिम तथा प्रशिक्षण गर्ने,उत्पादन,प्रकाशन कामहरु गर्ने लगायतका विभिन्न निर्णय गरेको छ । बैठकमा सहभागी अधिकांस केन्द्रीय समितिका सदस्यहरुले जनपत्रकार संगठनले आगामी महासंघको चुनावमा सशक्त रुपमा उभिनुपर्ने र निश्चित संगठनको सिण्डिकेट तोड्नु पर्ने सुभाव दिएका थिए ।