समाजवादी मोर्चा,नेपालद्वारा प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । समाजवादी मोर्चा नेपालले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सल्लाहकार परिषद्का सदस्य तथा प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ। मोर्चामा सहभागी दलका प्रमुख नेताहरूद्वारा बुधबार एक शोक बक्तव्य जारी गर्दै दाहालको निधनप्रति श्रद्धाञ्जली र प्रचण्ड लगाएत शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरिएको हो।
मोर्चाद्वारा जारी शोक बक्तव्यमा -“कमरेड सीता दाहाल नेपाली कम्युनिस्ट आन्दोलनको एउटा अनुपम क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । उहाँ सबै कर्तव्यनिष्ठ र वर्गपक्षधर रहनुभयो । राजनीतिको अति विषम परिस्थितिमा पनि उहाँ अविचलितरूपमा नेपाली क्रान्तिको पक्षमा दृढ भएर उभिनुभयो । उहाँले नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन आफ्नो परिवारको राजनीतिक योगदानलाई सुदृढ र सङ्गठित गर्न पनि मद्दत पुयाउनुभयो । उहाँको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्याङ्कन गर्नेछ” भनिएको छ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , एकीकृत समाजवादीका माधवकुमार नेपाल , माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टीका उपेन्द्र यादवद्वारा संयुक्त रूपमा हस्ताक्षरित बक्तव्यमा समाजवादी मोर्चा नेपालको तर्फबाट हामी उहाँप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं भन्दै मोर्चा स्तब्ध भएको बताइएको छ।
